Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

आज हरिशयनी एकादशी : तुलसी सारिँदै, विष्णु शयनमा, चतुर्मासको आरम्भ

  •   १० महिना अघि | २२ असार २०८२, आइतवार

 असार २२, २०८२, आइतबार

आज आषाढ शुक्ल एकादशी, सनातन धर्मावलम्बीहरूको आस्थामा गहिरो अर्थ बोकेको हरिशयनी एकादशी—यही दिनदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ भन्ने धार्मिक विश्वाससहित चतुर्मास व्रतको आरम्भ हुन्छ। घरघरमा तुलसीको बिरुवा आज सरेर मोठमा सारिँदैछ, विशेष पूजा आराधनाका साथ चार महिनासम्म नियमित पूजा सुरु हुँदैछ।

वेद–पुराण अनुसार, हरिशयनी एकादशीका दिनदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिने अवधि 'चतुर्मास' कहलिन्छ। यस अवधिमा भगवान् विष्णु क्षीरसागरमा शयन गरी ध्यानस्थ हुने धार्मिक मान्यता छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईका अनुसार, चतुर्मासका चार महिना धर्म, योग, ब्रह्मचर्य र साधनाका लागि अत्यन्त विशेष मानिन्छ।

घरघरमा तुलसी सर्ने दिन

आजको दिन तुलसीको बिरुवा पुरानो स्थानबाट नयाँ मोठमा सारिन्छ। गत ज्येष्ठ शुक्ल एकादशीमा छरेका तुलसीका बीउहरू आज रोपिएका बिरुवासहित मोठमा सारिएर बिघ्नेश्वर पूजा, तुलसी पूजन र विष्णु आराधना सुरु हुन्छ। विष्णुको प्रतीकका रूपमा पूजिने तुलसीलाई चतुर्मास अवधिभर हरिपूजामा समर्पित गरिन्छ।

भक्तिभाव र व्रतको परम्परा

एक वर्षमा पर्ने २४ एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष मानिन्छ। सक्ने भक्तजनले सम्पूर्ण २४ एकादशीमा व्रत बस्ने चलन छ भने नसक्नेले चतुर्मासभित्र पर्ने ८ वटा एकादशीमा मात्र व्रत बस्छन्। कामकाजी जीवनशैली भएका धेरै भक्तजन भने आजको दिन विशेष फलाहार गरेर व्रत बस्छन्। एकादशीको दिनमा विशेषतः चामल परित्याग गरी रोटी, ढिँडो र फलफूल खाएर व्रत गर्ने चलन रहिआएको छ।

भक्तजनको घुइँचो र धर्मस्थलमा चहलपहल

आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, चन्द्रविनायक, विष्णुमती, इचंगुनारायण, साना ठूला नारायण मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। देशभरका प्रमुख विष्णु मन्दिरहरूमा विशेष पूजाआजा, हरिगीत, कथा वाचन र भजनकीर्तन हुँदैछ।

तुलसी : धर्म, स्वास्थ्य र वास्तुको प्रतीक

धार्मिक मान्यताअनुसार तुलसी जहाँ हुन्छ, त्यहाँ देवताको वास रहन्छ भन्ने विश्वास छ। वैज्ञानिक अनुसन्धानहरूका अनुसार पनि तुलसी भएको स्थानमा शुद्ध अक्सिजन बहाव उच्च हुने र रोगकारक ब्याक्टेरियाहरूको उपस्थितिमा कमी आउने देखिएको छ। वास्तुशास्त्रले पनि तुलसीलाई सकारात्मक ऊर्जा प्रदान गर्ने शक्तिको रूपमा स्वीकार गरेको छ।

चतुर्मासको समापन : तुलसी विवाह

आजदेखि सुरु भएको चतुर्मास व्रत कार्तिक शुक्ल एकादशीमा विधिवत् समाप्त हुन्छ। त्यस दिनलाई हरिबोधिनी एकादशी भनिन्छ, जुन दिन तुलसी र भगवान् दामोदर (विष्णुको स्वरूप) बीच वैदिक विधिबाट विवाह गरिन्छ। विवाहपछि चतुर्मास व्रतको उद्यापन अग्निस्थापनसहित हवन गरी सम्पन्न गरिन्छ।


  • Jigyasanepal

थप