✍🏼पूर्व सहसेनानी विष्णु खत्री
परापूर्वकालदेखि स्वतन्त्रताको गौरवमा बाँच्दै आएको हाम्रो प्यारा मातृभूमि नेपाल कहिल्यै कसैको उपनिवेश बनेको छैन । पृथ्वीनारायण शाहले ‘नेपाल चार जात छत्तीस वर्णको फूलबारी हो’ भन्ने गहिरो दृष्टिकोणबाट सुरु भएको हाम्रो राष्ट्रिय यात्रा आजसम्म निरन्तर छ । तर, पछिल्ला केही दशकका घटनाहरू — २००७ र २०१७ सालका परिवर्तन, २०३६ को जनमत सङ्ग्रह, २०४६ को जनआन्दोलन, २०५२ देखि २०६३ सम्मको सशस्त्र द्वन्द्व, र हालको २०८२ को जेन्जी आन्दोलन — ले देशलाई धेरै चोटपटक झस्काएको छ ।
मैले पनि शिक्षकको रूपमा पेशागत जीवन सुरु गरेर, त्यसपछि सैनिक सेवामा रहँदा रोल्पाजस्ता संवेदनशील क्षेत्रमा अपरेसन अफिसरको रूपमा समेत गरी १७ वर्ष देश र जनताको सेवा गर्ने अवसर पाएँ । तर, द्वन्द्वकालको निर्दयी समय, दुवै पक्षको पेलाइ र अन्यायले अन्ततः मलाई देश छोड्न बाध्य पार्यो । सन् २००३ देखि अस्ट्रेलियामा बस्दै आज २२ वर्ष पूरा गर्दा पनि मन भने अझै मातृभूमिकै माटोमा डुबेको छ ।
नेपालको आजको अवस्था देख्दा निद्रा हराउँछ । निरपराध बालबालिकामाथि चल्ने गोली र विभाजनको राजनीति देख्दा हृदय रोइरहेको छ । त्यसैले म अस्ट्रेलियाबाट, एक पूर्वसैनिकको हैसियतमा, नेपालका हरेक पुस्ता — राजनैतिक दलका नेता, बुद्धिजीवी, सुरक्षाकर्मी, नागरिक र जेन्जी पुस्ताका युवाहरू — सबैलाई केही तीतो तर आवश्यक सत्य र सुझाव पस्कँदैछु ।
१. छिमेकीको प्रभाव र राष्ट्रिय स्वाभिमान
नेपालको परराष्ट्र नीति हल्लिने पातजस्तो बनाइएको छ । २०४५ को नाकाबन्दी, १२ बुँदे सम्झौता, मधेश आन्दोलनदेखि संविधान निर्माणसम्म — छिमेकीको हस्तक्षेप स्पष्ट देखिन्छ । नेपाललाई भुटानीकरणतिर लैजाने खतरा बढ्दैछ ।
अब आवश्यक छ — सांस्कृतिक राजा (Ceremonial King) जस्तो एक राष्ट्रिय एकता प्रतीक पुनर्स्थापना, जसलाई सबै धर्म, जात, पार्टी र क्षेत्रका देशभक्त, विद्वान् र विवेकशील नेपालीहरूले सल्लाहकाररूपमा मार्गदर्शन गर्ने व्यवस्था होस् ।
२. शासन प्रणालीमा सुधार
• प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित हुनुपर्छ ।
• सांसदहरू कार्यकारी बन्न नपाउने ।
• न्यायालय, संवैधानिक निकाय, सेना–प्रहरी निष्पक्ष र दक्ष व्यक्तिहरूबाट सञ्चालन हुनुपर्छ ।
• परराष्ट्र नीति तटस्थ र स्थिर हुनुपर्छ — सरकार फेरिए पनि नीति नफेरिने व्यवस्था अनिवार्य छ ।
३. नेपालको प्राकृतिक र आध्यात्मिक सम्पदा
नेपाल कुनै साधारण भूभाग होइन । यहाँ सगरमाथा, गौतमबुद्धको जन्मभूमि, जल–खनिज–वनसम्पदाको अथाह भण्डार, र धार्मिक आस्था बसीरहेको पशुपतिनाथको पवित्र भूमि छ ।
हामी नेपालीहरूको इमानदारी, बहादुरी र कर्तव्यपरायणता विश्वले मान्यता दिएको छ । यी सबै गुण र स्रोतहरू मिलेर नेपाललाई विश्वको शान्त देश (Peace Zone) बनाउने सपना साकार गर्न सकिन्छ ।
४. ऐतिहासिक भूल र सिकाइ
राजनीतिक दलहरूको व्यक्तिगत स्वार्थ, छिमेकी दबाब र नेताहरूको असमझदारीका कारण देश कमजोर बनाइएको हो ।
अघिल्ला राजा, प्रधानमन्त्री, नेताहरूले गल्ती गरेका छन्, तर अब त्यही गल्ती दोहोर्याउने ठाउँ छैन ।
अब आवश्यक छ —
“हामी नेपाली एक हौं” भन्ने राष्ट्रिय भावना,
न कि “म, मेरो पार्टी, मेरो जात।”
५. भ्रष्टाचार र दण्डहीनतामाथि कडा कार्यवाही
भ्रष्टाचार गर्नेहरूलाई जेलमा मात्र होइन, जनतामाझैँ उजागर गर्नुपर्छ ।
साँच्चै सजाय र पारदर्शिता देखिने दिन आए मात्र नागरिकको विश्वास फर्कनेछ ।
अन्तिम चेतावनी र आशा
नेपाल दुई शक्तिशाली राष्ट्रहरू — चीन र भारत — बीचमा छ । यदि हामीले समयमै एकता, तटस्थता र आत्मनिर्णयको बाटो नलिए, भने नेपाल विदेशी स्वार्थको खेल मैदान बन्ने खतरा छ ।
तर यदि हामीले ‘गर्छौं, सक्छौं, एक हौं’ भन्ने दृढता लिएर अघि बढ्यौं भने —
हिमाल, पहाड र तराईको एकता, वैदेशिक नीति तटस्थता, र जनशिक्षामा देशभक्ति मिसाएर —
नेपाललाई स्वीजरल्याण्डजस्तो शान्त, समृद्ध र स्वाभिमानी राष्ट्र बनाउन सकिन्छ ।
म अस्ट्रेलियाको भूमिबाट हरेक बिहान र साँझ यही प्रार्थना गर्छु —
“नेपालको भविष्य उज्यालो होस्, एकता रहोस्, र सत्यले विजय पाओस्।”
धन्यवाद।
(लेखक — एक पूर्व नेपाली सैनिक, अस्ट्रेलियाबाट)
-
Jigyasanepal