Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

जापानिज इन्सेफलाइटिसको प्रकोप : एक महिनामा तीन जनाको मृत्यु, दर्जन बढी संक्रमित

  •   ८ महिना अघि | २१ भदौ २०८२, शनिबार

नवलपुर ।

नवलपुर, भदौ २० । नवलपुरमा जापानिज इन्सेफलाइटिस (Japanese Encephalitis) को प्रकोप चुलिँदै गएको छ। पछिल्ला एक महिनामै जिल्लाका तीन जनाले ज्यान गुमाएका छन् भने १४ जनामा संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।

कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृतकमध्ये मध्यविन्दु नगरपालिका–१ पतवारीका ५२ वर्षीय पुरुष, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला र हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका रहेका छन्। उनीहरूको नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएकोमा जापानिज इन्सेफलाइटिस पुष्टि भएको थियो।

गम्भीर बिरामी र संक्रमणको अवस्था

हाल दुई जना संक्रमित गम्भीर अवस्थामा काठमाडौंमा उपचाररत छन्। तिवारीका अनुसार यो रोगले सिधैँ मस्तिष्कमा असर गर्ने भएकाले बिरामीको अवस्था झन् जटिल बन्दै जान्छ। संक्रमितमध्ये कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दुमा ४ जना र हुप्सेकोट, बौदिकाली, गैँडाकोट तथा देवचुली नगरपालिकामा एक–एक जना छन्।

“संक्रमितमध्ये करिब ९० प्रतिशतमा लक्षण देखिँदैन,” तिवारीले भने, “तर लक्षण देखिएका बिरामीमा मस्तिष्क सुन्निने, पक्षाघात, बेहोस हुने र कोमामा जाने जोखिम हुन्छ, जसमा मृत्यु दर समेत उच्च हुन्छ।”

लामखुट्टेको टोकाइबाट फैलिने रोग

तिवारीका अनुसार जापानिज इन्सेफलाइटिस ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्छ। यो लामखुट्टे प्रायः साँझपख र विहान झिसमिसेमा सक्रिय हुन्छ। धानबाली, दलदल र पानी जम्ने क्षेत्र यसको प्रजननस्थल भएकाले ग्रामीण बस्तीहरू बढी जोखिममा छन्। संक्रमित लामखुट्टेले कुखुरा, हाँस, सुँगुर वा बंगुरलाई टोकेपछि मानिसमा रोग सर्ने सम्भावना उच्च हुन्छ।

सामुदायिक सतर्कता र सचेतना अभियान

एक महिनामै तीन जनाको मृत्यु भएपछि प्रदेश जनस्वास्थ्य कार्यालयले विभिन्न टोल सुधार समितिहरू, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीको सहकार्यमा सचेतना अभियान सुरु गरेको छ। लामखुट्टेको टोकाइबाट जोगिनका लागि झुल प्रयोग गर्न, लामो बाहुला भएका कपडा लगाउन, पानी जम्ने खाल्डाखुल्डी पुर्न र जनावरका खोरलाई मानव बस्तीबाट टाढा राख्न आग्रह गरिएको छ।

अघिल्ला वर्षहरूमा पनि मृत्यु

गत आर्थिक वर्ष २०८१–८२ मा यस रोगबाट तीन जना संक्रमित भएका थिए। त्यसअघि २०८०–८१ मा १२ जनामा संक्रमण पुष्टि हुँदा चार जनाले ज्यान गुमाएका थिए। यसवर्ष छोटो अवधिमै तीन जनाको मृत्यु भएपछि नवलपुरमा यो रोगको जोखिम अझ गम्भीर बनेको जनस्वास्थ्य कार्यालयको भनाइ छ।

  • Jigyasanepal

थप