काठमाडौँ, साउन २३ । भारतको उत्तराखण्डमा आएको भीषण बाढी र पहिरोमा परी कम्तीमा १७ जना नेपाली नागरिक बेपत्ता भएका छन्, भने केही घाइते भएको पुष्टि भएको छ। बर्दिया र जाजरकोटका दर्जनौँ नागरिक मजदुरीका लागि पुगेको क्षेत्रलाई बाढीले सखाप बनाएको हो।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार, बर्दियाका ४ जना र जाजरकोटका १३ जना सम्पर्कविहीन छन्। “थप ३ जना घाइते भएको छ भन्ने जानकारी आएको छ। मन्त्रालयलाई जानकारी गराइसकिएको छ, दूतावासमार्फत समन्वय भइरहेको छ,” पौडेलले बताए।
जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले विज्ञप्ति जारी गर्दै, वडा नं. २ का करिब १३ जना र अन्य वडाका केही बासिन्दा समेत हराएको बताएका छन्। उनले तत्काल खोज तथा उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
बाढीमा बेपत्ता भएका मानबहादुर सिंहका छोरा नवीन सिंहले बुबासहित ७ जना हराएको जानकारी गाउँपालिका अध्यक्षलाई टेलिफोनमार्फत दिएका छन्।
घटनास्थल र उद्धार प्रयास
बुधबार दिउँसो आएको बाढीले उत्तरकाशी जिल्लाको धराली बजार सबैभन्दा बढी प्रभावित भएको छ। समुद्री सतहबाट करिब ३१०० मिटरको उचाइमा रहेको यो बजार चारधाम यात्रा मार्गमा पर्दछ र सुदूरपश्चिमका धेरै नेपाली मजदुर यहाँ काम गर्छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार, बाढीमा परी ५ जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता र सयौँ विस्थापित भएका छन्। भारतीय अधिकारीहरूका अनुसार हालसम्म १९० जनालाई उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले भारतीय स्थानीय अधिकारीहरूसँग समन्वय भइरहेको र भोलिसम्म आधिकारिक विवरण प्राप्त हुने बताएका छन्।
बर्दिया–मधुवनका पीडितहरू
मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटका अनुसार, इलाका प्रहरी कार्यालय ढोडरीमा बेपत्ताको खोजीका लागि आफन्तहरूले निवेदन दिएका छन्।
बेपत्तामा ३९ वर्षीय नरेन्द्र खड्का, उनकी श्रीमती सरस्वती भण्डारी खड्का, २ वर्षीय छोरा रोमन खड्का र वडा नम्बर ५ की अमृता परियार रहेका छन्। उनीहरू यसै वैशाखमा ज्याला मजदुरीका लागि उत्तराखण्डको पौडी जिल्ला बाँकुडा गाउँ गएका थिए।
क्लाउडबर्स्टको कारण
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीका अनुसार, अत्यधिक वर्षापछि आएको क्लाउडबर्स्टका कारण लेदो माटो र पानीको बाढीले ठूलो क्षति पु¥याएको हो। धामी स्वयं हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग भेट गरेका छन्।
पश्चिमी हिमालय क्षेत्रमा अवस्थित उत्तराखण्ड आकस्मिक बाढी र पहिरोको दृष्टिले अति संवेदनशील मानिन्छ। बाढी र पहिरोपछि उद्धार कार्य अझै जारी छ, तर बेपत्ताको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
-
Jigyasanepal