काभ्रे | २०८२ जेठ १५
काभ्रेपलाञ्चोकको रोशी खोलामा बाढीले बगाएको पुलबाट फलामका सामान चोरेर टिपरमा लोड गरिरहेका चार जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। घटनास्थलबाट दुईवटा टिपरसहित चोरीमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको हो। २०८१ सालको असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका वडा नं. ७ र नमोबुद्ध नगरपालिका वडा नं. ६ को सिमानामा रहेको पक्की पुल बगाएको थियो। सोही दुर्घटनामा क्षतिग्रस्त पुलमा प्रयोग भएका फलामका महत्त्वपूर्ण पार्टपुर्जाहरू चोरी हुने क्रम सुरु भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मिति २०८२ जेठ १२ गते दिउँसो १२:५० बजे, रोशी खोलाको किनारमा दुईवटा टिपरमा फलाम लोड गरिरहेको अवस्थामा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले बाढीले बगाएको पुलको बाँकी फलामका पार्टपुर्जाहरू चोरी गरी टिपरमा राखेर लैजाने तयारी गरिरहेका थिए।

पक्राउ पर्नेहरूमा दुईजना चोरीमा संलग्न तथा दुईजना टिपर चालक छन्: मण्टु कुमार, स्थायी ठेगाना भारत, बिहार मोतिहारी, हाल काभ्रे, बनेपा नगरपालिका वडा नं. ७, उमेर ३२ वर्ष, जितेन्द्र पासवान, स्थायी ठेगाना सर्लाही, मलंगवा नगरपालिका वडा नं. ३, हाल काभ्रे, बनेपा नगरपालिका वडा नं. ७, उमेर ३९ वर्ष। र टिपर चालकहरू, मानबहादुर तामाङ, भुम्लु गाउँपालिका वडा नं. ९, काभ्रे। उमेर ४७ वर्ष। (बा ५ ख ४६२६ नम्बरको चालक) र रमेश लामा, रोशी गाउँपालिका वडा नं. ८, काभ्रे। उमेर ४० वर्ष। (बा २ ख ४००१ नम्बरको चालक) रहेका छन् ।
प्रहरीले चारै जनालाई नियन्त्रणमा लिएर चोरी कसूर अन्तर्गत म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। चोरीका लागि प्रयोग गरिएको दुवै टिपर पनि नियन्त्रणमा लिइएको छ।
यो घटनाले स्थानीय तह र प्रहरी प्रशासनको सार्वजनिक सम्पत्ति संरक्षणप्रतिको चुनौती र कमजोरी पनि उजागर गरेको छ। बाढी वा विपद्पछि बाँकी रहेका संरचनाहरूको सुरक्षा र निगरानी नहुँदा यसरी चोरी हुने घटनाहरू दोहोरिने सम्भावना देखिएको स्थानीयहरू बताउँछन् ।
-
Jigyasanepal