सुनसरी, चैत ११ – माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्रविधिको दुरुपयोग गर्दै चिट चोराउने गतिविधि भएको पाइएको छ। सुनसरी सदरमुकाम इनरुवा-९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित परीक्षाको समयमा ह्वाट्सएप प्रयोग गरी चिट चोराउने गिरोह संलग्न रहेको खुलासा भएको छ।
परीक्षा केन्द्रबाट डिजिटल माध्ययमको प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्ड पक्राउ परेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार अनुगमन टोली परीक्षा केन्द्रमा पुग्ने बित्तिकै संलग्न शिक्षकहरूले मोबाइल बन्द गरेका थिए।
चिट चोराउन मोबाइल र ह्वाट्सएपको प्रयोग
अनुगमनका क्रममा गार्डहरूसँग रहेको मोबाइल जाँच गर्दा विद्यार्थीको नाम, सिम्बोल नम्बर, बोर्डिङ स्कुलको नामसहित परीक्षा सम्बन्धी गोप्य जानकारी आदान-प्रदान भएको पुष्टि भएको छ। पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा केन्द्रबाट निष्कासन गरिएको छ।
त्यस्तै, इनरुवा-१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा इनरुवा-५ निवासी मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादव रहेका छन्।
अनुसन्धान जारी, कडाइका निर्देशन
परीक्षा केन्द्रभित्र मोबाइलको प्रयोगलाई लिएर प्रशासनले थप कडाइ गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले परीक्षाको मर्यादा कायम गर्न परीक्षा केन्द्र लक्षित अनुगमनलाई थप सशक्त बनाउने जनाएको छ।
यसअघि, सुनसरीकै दुहबीस्थित सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट अनधिकृत गतिविधिमा संलग्न दुई-दुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो।
सुनसरीमा निजी विद्यालय सञ्चालकहरूको प्रभावका कारण निरीक्षकहरू आर्थिक प्रलोभनमा फस्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। परीक्षालाई मर्यादित बनाउन प्रशासनले परीक्षा केन्द्रका प्रमुखहरूलाई थप सतर्क रहन निर्देशन दिएको छ।
- Jigyasa media