काठमाडौं । सगरमाथा—संसारको सर्वोच्च शिखर। जहाँ पुग्न हरेक साहसी हृदयले स्वप्न देख्छ, र जीवनको बाजीसमेत लगाउन पछि पर्दैन। यही सगरमाथाको ७२ वर्षे आरोहण इतिहासमा अब फेरि एउटा नयाँ अध्याय लेखिँदैछ—२० दिनमा चारपटक सगरमाथा चढ्ने अठोटसहित निस्किएका छन् टासी ग्याल्जेन शेर्पा।
२८ वर्षीय टासी शेर्पा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का हुन्। उनका लागि सगरमाथा केवल हिमाल होइन—पुर्खाको प्रेरणा, आत्मबलको परीक्षा र विश्वसामु नेपाललाई चिनाउने गौरवशाली अभियान हो।
टासीको लक्ष्य: कीर्तिमान मात्र होइन, राष्ट्रको शिर उच्च बनाउने अभियान
"२० दिनभित्र चारपटक सगरमाथा चढ्ने मेरो लक्ष्य छ," आत्मविश्वाससाथ टासीले भने। उनी यसअघि चारपटक सगरमाथाको सफल आरोहण गरिसकेका छन्। अमादब्लम, चोयु, मकालु र चीनको सिसापाङ्मा हिमाल चढ्ने अनुभवसहित उनी अब कीर्तिमानी आरोहणको दौडमा छन्।
बुबाले चढेको सगरमाथा, अब छोराले कीर्तिमानको रूपमा दोहोर्याउनेछन्। सगरमाथामा ८ दिनमै तीनपटक आरोहण गर्ने दावाफुञ्जु शेर्पाको रेकर्ड उनले तोड्न लागेका छन्।
‘हिउँचितुवा’देखि ‘सगरमाथा रानी’सम्म
टासीको प्रयासले हामीलाई ती गौरवशाली पात्रहरू सम्झाउँछ—बिनाअक्सिजन १० पटक सगरमाथा चढेका हिउँचितुवाका उपनामले परिचित आङरिता शेर्पा, ३० पटक आरोहण गरेर विश्व कीर्तिमान राख्ने कामीरिता शेर्पा, र एकै सिजनमा तीनपटक आरोहण गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ।
केवल साहस होइन, सेवाको पनि भाव
टासीले भारत, चीन, अमेरिका लगायतका दर्जनौं विदेशी नागरिकलाई चुचुरो पुर्याएका छन्। 'सेभेन समिट ट्रेक्स' र 'फर्टिन पिक' कम्पनीमा गाइडको रूपमा काम गरेका उनले अब ‘एटके एक्सपीडिसन’मार्फत इतिहास रच्न लागेका छन्।
भविष्यको सपना: ७ महादेशका अग्ला हिमाल
सगरमाथाको रेकर्ड पछि टासीको लक्ष्य स्पष्ट छ—विदेशी पर्यटकलाई नेपालतर्फ झुकाउने अभियान र सातै महादेशका अग्ला हिमाल चढ्ने व्यक्तिगत सपना।
सन्देश: सगरमाथा चढ्नु केवल ‘रिकर्ड’ होइन, आत्मबल र देशको इज्जत बोक्ने यात्रा हो
टासी भन्छन्, “सगरमाथा मेरो लागि पुर्खाको प्रेरणा हो, र सगरमाथामै रेकर्ड राखेर म नेपाललाई विश्वसामु अझै अग्लो देखाउन चाहन्छु।” तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरिता जस्ता अग्रज कीर्तिमानीहरूकै बाटो समात्दै उनी अब इतिहासको अर्को सुनौलो पाना कोर्न तयार छन्।
- Y