जिज्ञासा नेपाल, काठमाडौं ।
देशभरको मौसम फेरि एक पटक सक्रिय बन्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको पछिल्लो बुलेटिन अनुसार आज (जेठ ५ गते) दिउँसोदेखि मंगलबार बिहान ६ बजेसम्म सातवटै प्रदेशका विभिन्न भूभागमा मेघगर्जन, चट्याङ, वर्षा र हिमपात हुने प्रबल सम्भावना देखिएको छ।
हाल सोमबार बिहानैदेखि अधिकांश प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। मौसमविद्हरूले दिनभर र रातभर यी मौसमी गतिविधि थप सक्रिय हुने सम्भावना औंल्याएका छन्।
प्रदेशवार सम्भावित मौसमी अवस्था:
कोसी प्रदेश:
हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी र तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना दिउँसो र राति दुवै समयमा छ।
मधेस प्रदेश:
तराई क्षेत्रका थोरै स्थानमा दिउँसो र राति दुबै बेला हल्कादेखि मध्यम वर्षा हुनसक्ने अनुमान छ।
बागमती प्रदेश:
हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी तथा तराई भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ। राति आंशिक बदलीसँगै एक-दुई स्थानमा हिमपात हुने प्रक्षेपण छ।
गण्डकी प्रदेश:
हिमाली र पहाडी क्षेत्रमा हल्का हिमपात र वर्षाको सम्भावना रहँदा तराई क्षेत्रमा पनि बदलीसहित वर्षा हुने देखिएको छ।
लुम्बिनी प्रदेश:
हिमाल, पहाड र तराई सबै क्षेत्रमा समान किसिमको हल्का हिमपात र वर्षाको सम्भावना दिइएको छ।
कर्णाली प्रदेश:
दिउँसो हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात, राति एक-दुई स्थानमा हिमपात र पहाडतिर हल्का वर्षा देखिएको छ।
सुदूरपश्चिम प्रदेश:
हिमाली क्षेत्रमा हल्का हिमपातसँगै मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा दिनभर र रातभर हुने अनुमान गरिएको छ।
वर्षाको मात्रा र परिभाषा
मौसमविद्हरूका अनुसार:
- १० मि.मि. भन्दा कम वर्षा हल्का
- १०–५० मि.मि. मध्यम
- ५०–१०० मि.मि. भारी
- १००–२०० मि.मि. धेरै भारी
- २०० मि.मि.भन्दा माथि अति भारी वर्षा मानिन्छ।
त्यस्तै, "केही स्थान" भन्नाले ५०% क्षेत्र, "थोरै स्थान" २५–३०% भूभाग, र "एक-दुई स्थान" भन्नाले २५% भन्दा कम क्षेत्रलाई जनाउने गरिएको छ।
आज दिउँसोदेखि रातिसम्म मुलुकभर मौसमी गतिविधि तीव्र हुने सम्भावनाका कारण, सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। हिमाली क्षेत्रमा यात्रा गर्नेहरू, कृषक वर्ग तथा स्थानीय तहहरूलाई पूर्वतयारी गर्न मौसमविद्हरूको सुझाव छ।
-
Jigyasanepal