Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

नयाँ वर्षको पहिलो किरणसँगै गुञ्जियो शैलुङ: पचासौं हजार बढी भक्तजनको भीड

आध्यात्मिक उत्सव र पर्यटकीय उत्साहको ऐतिहासिक संगम

  •   १ वर्ष अघि | २ बैशाख २०८२, मङ्लबार

शुकदेव थपलिया, दोलखा | वैशाख २, २०८२

नयाँ वर्ष २०८२ को आरम्भसँगै नेपालको धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल शैलुङमा भव्य धार्मिक तथा पर्यटकीय जमघट भएको छ। दोलखा–रामेछापको सीमा क्षेत्रमा अवस्थित महाभारत शृंखलाको शीर्षस्थ शैलुङमा ५० औँ हजार बढी भक्तजनको भिडले नयाँ वर्षलाई आध्यात्मिक उर्जासँग स्वागत गर्‍यो।


भक्तिभाव र पर्यटकीय समृद्धिको प्रतीक: शैलुङको नयाँ वर्ष

शैलुङ्गेश्वर महादेव मन्दिर परिसर र भीमसेन सिला तरवार क्षेत्रमा आयोजित सामूहिक लघु रुद्री पूजामा करिब ४० हजार बढी भक्तजनले उपस्थिति जनाएका थिए । यस सँगै धार्मिक पर्यटनको सम्भावना चुलिएको देखिएको छ। आयोजक संस्थाहरूको अनुसार, शैलुङमा करिब १० हजारभन्दा बढी सवारी साधनको चाप देखिएको छ, जुन नेपाली आन्तरिक पर्यटनको ऐतिहासिक उदाहरण बन्न पुगेको छ। यसको हिसाबले झण्डै एकलाख पर्यटक आगमन भएको आँकलन गर्न सकिने वहाँहरू को भनाइ छ ।


संवेदनशील भूगोल, साँस्कृतिक गहिराइ

३१४८ मिटर उचाइमा अवस्थित सय थुम्का शैलुङ ऋषिमुनिहरूको तपोभूमि मात्र होइन, जनश्रुतिअनुसार स्वयं भगवान शंकरको वासस्थान हो। एउटै ढुंगाको ओडारभित्र महादेव विराजमान छन् भन्ने विश्वासले यस क्षेत्रलाई अत्यन्त शक्तिशाली धार्मिक तीर्थ बनाएको छ।


समाजसेवी शोभित उप्रेतीको आह्वान: 'शैलुङलाई विश्वस्तरीय तीर्थ बनाऔं'

कार्यक्रमका संरक्षक शोभित उप्रेतीको अगुवाइमा शैलुङमा ५२ किलोको काँसको ऐतिहासिक घण्टा चढाइएको छ। उहाँले भने, “शैलुङ मन्दिरको सीमामा मात्र होइन, यो पूरै भूगोल नै एक गहिरो धार्मिक ऊर्जा बोकेको तीर्थस्थल हो। यसको संरक्षण र विश्वस्तरीय प्रवर्द्धनमा अब ढिला गर्नु हुँदैन।”

उप्रेतीको यो भावनात्मक आह्वानले धार्मिक मात्र होइन, पर्यटकीय सम्भावनामा पनि गम्भीर सन्देश दिएको छ—शैलुङ अब विश्वमा चिनिनुपर्छ। वहाँको भनाइमा नव बर्ष को पहिलो दिन सोमबार शैलुङ मा भक्तजनको भीड ५० हजार अपेक्षा गरिएकोमा सो भन्दा धेरै बाक्लो उपस्थिति देखिएको झण्डै १ लाख भक्तजनको भीड आँकलन गर्दै यो शैलुङको लागि सन्तोषको समाचार भएको समेत टिप्पणी गर्नुभयो ।

भक्तजनहरू लाई प्रसाद ग्रहण गराइयो

सोही अवसरमा दोलखाको शैलुङ गा.पा.–०८, शैलुङ्गेश्वर महादेव मन्दिर परिसरमा सामूहिक लघु रुद्री पूजा, भजन–कीर्तन र प्रसाद ग्रहण कार्यक्रम आयोजना गरिएको थियो ।

यस पुण्य कार्यमा सहयोग पुर्‍याउँदै भीमेश्वर नगरपालिका–१ निवासी समाजसेवी तथा राप्रपाका नेता कुमार कार्कीले श्रद्धालु भक्तजनहरूको पूजा, प्रसाद तथा व्यवस्थापनका लागि सहयोग गर्नु भएको थियो । 


सुरक्षा, व्यवस्थापन र संरक्षणमा शैलुङ जागरुक

शैलुङ पर्यटन तथा कालापानी बजार टोल विकास संस्था र स्थानीय प्रशासनको संयोजनमा सुरक्षालाई विशेष प्राथमिकता दिइएको छ। अध्यक्ष रुद्र थपलियाले भने, “हामीले व्यवस्थापन र सुरक्षामा कुनै कसर बाँकी राखेका छैनौँ। शैलुङलाई शान्त, स्वच्छ र सुरक्षित धार्मिक गन्तव्य बनाउने हाम्रो संकल्प छ।”

साथै, पर्यावरण संरक्षणलाई मध्यनजर गर्दै भक्तजनलाई लालीगुराँस र जडीबुटी नतोड्न, प्राकृतिक सौन्दर्यलाई नच्यात्न सभ्य असल नागरिकको परिचय दिन अपिल गरिएको छ। 


शैलुङ : धार्मिक चमत्कार र पर्यटकीय उचाइको संगम

शैलुङ अब केवल चाडबाडमा घुम्ने स्थल होइन, नेपालकै धार्मिक पर्यटनको नयाँ मोडल बन्दैछ। नयाँ वर्षमा गुञ्जिएको मन्त्रोच्चारण, घण्टाघात र श्रद्धाभावले शैलुङको थुम्कालाई उज्यालो बनाएको छ—जसको प्रतिध्वनि अब देश विदेशसम्म पुग्नेछ।

नयाँ वर्ष २०८२ को सूर्योदयसँगै उदाएको शैलुङ आज भक्तिको उज्यालोमा मात्र होइन, पर्यटन विकासको नयाँ युगको संकेत बनेको छ। आध्यात्मिकता, किंवदन्ती र पर्यावरणीय सन्तुलनको अनुपम संगम शैलुङ अब नेपालका पर्यटकीय र तीर्थ नक्सामा स्थायी हस्ताक्षर बनाउन अग्रसर छ।

  • Jigyasa media

थप