Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

भदौ २३ मा प्रधानमन्त्री शाहले अनावरण गर्ने, जेन–जी आन्दोलनका ४२ सहिदको शालिक तयार

  •   २ महिना अघि | ३ भदौ २०८३, बुधबार

ललितपुर । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४२ सहिदको अर्धकदको शालिक निर्माण सम्पन्न भएको छ। आन्दोलनमा ३ जना प्रहरीसहित ४५ जनाको मृत्यु भए पनि प्रहरी र सर्वसाधारण सहिदका शालिक अलग राख्ने सहमतिअनुसार ४२ जना सहिदको मात्र शालिक तयार गरिएको हो।

निर्माण भएका सबै शालिक भदौ २३ गते प्रधानमन्त्री बालेन्द्र शाहले अनावरण गर्ने कार्यक्रम रहेको छ। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा हुने दिन पारेर शालिक अनावरण गर्न लागिएको हो।

१० महिनाको मेहनतपछि ढुंगामा उत्रिए सहिदका आकृति

पाटनका मूर्तिकार **रवि शाक्य (टम एन्ड जेरी)**को नेतृत्वमा सुजित श्रेष्ठ र मनिष श्रेष्ठको सहयोगमा शालिक निर्माण गरिएको हो। परिवारबाट उपलब्ध गराइएका तस्बिरका आधारमा सहिदहरूको आकृति तयार गरिएको बताइएको छ।

मूर्तिकार शाक्यका अनुसार शालिक निर्माणको काम कार्तिकदेखि सुरु गरिएको थियो। करिब १० महिनासम्म दिनरात मेहनत गरेर सबै शालिक तयार गरिएको हो। सुरुमा माटोबाट पटक–पटक नमुना तयार गरी आकृति मिलाएपछि ढुंगामा अन्तिम रूप दिइएको उनले बताएका छन्।

उनका अनुसार शालिक निर्माणका क्रममा आर्थिक पक्षभन्दा पनि आवश्यक आकृति र अनुहारलाई वास्तविकतासँग मिलाउनु ठूलो चुनौती थियो।

सातदोबाटोमा सहिद पार्क

४२ सहिदका शालिक सातदोबाटोस्थित पौडी पोखरीनजिक निर्माण भइरहेको पार्कमा राखिने भएका छन्। पार्क निर्माण तथा शालिक राख्ने काम अन्तिम चरणमा पुगेको र करिब दुई साताभित्र उद्घाटन गर्न मिल्ने गरी काम भइरहेको मूर्तिकार शाक्यले बताएका छन्।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गर्नुअघि नै सहिदप्रति सम्मान व्यक्त गर्दै सहिद पार्क निर्माण गर्ने र त्यहाँ जेन–जी आन्दोलनका सहिदको शालिक राख्ने योजना अघि सारेको बताइएको छ।

यस काममा प्रधानमन्त्री शाह, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार व्यञ्जनकारलगायत सरकारी निकायका व्यक्तिहरूको भूमिका रहेको शाक्यले बताएका छन्।

आन्दोलनमा ४५ जनाले ज्यान गुमाएका थिए

जेन–जी आन्दोलनका क्रममा भदौ २३ गते २० जना, भदौ २४ गते १६ जना तथा भदौ २५ र २७ गते घाइते अवस्थामा रहेका तीन–तीन जनाको मृत्यु भएको थियो। आन्दोलनमा कुल ७६ जनाले ज्यान गुमाएको उल्लेख भए पनि सरकारले ४५ जनालाई मात्र सहिद घोषणा गरेको थियो।

गत वर्ष भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा मृत्यु भएकालाई २०८२ कार्तिक १७ गते बसेको मन्त्रिपरिषद् बैठकले सहिद घोषणा गरेको थियो। त्यसपछि राजपत्रमा नाम प्रकाशित गरिएको थियो।

आन्दोलनका क्रममा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भएको थियो।

निर्माण भएका ४२ सहिदका शालिक

भदौ २३ मा ज्यान गुमाउनेहरू

१. मोरङ बेलबारीका १६ वर्षीय मोरङ श्रीयम चौँलागाईं

२. बाँके नेपालगञ्जका १९ वर्षीय आयुष थापा

३. अर्घाखाँचीका २० वर्षीय माधवसारु मगर

४. बझाङका २१ वर्षीय सुभाषकुमार बोहरा

५. सुनसरी इनरुवाका २२ वर्षीय अभिषेक श्रेष्ठ

६. सिन्धुपाल्चोक बाह्रबिसेका २२ वर्षीय योगबहादुर श्रेष्ठ

७. काभ्रे पनौतीका २२ वर्षीय रसिक खतिवडा खत्री

८. धनगढीका २२ वर्षीय गौरव जोशी

९. गोरखा बारपाकका २२ वर्षीय विमलबाबु भट्ट

१०. बाँके नेपालगञ्जका २३ वर्षीय सुलभ श्रेष्ठ

११. पर्सा वीरगञ्जका २४ वर्षीय असहाब आलम ठकुराई

१२. सिन्धुली गोलन्जोरका २५ वर्षीय योगेन्द्र न्यौपाने

१३. काठमाडौँ महानगरपालिका–११ का २७ वर्षीय ईश्वतबहादुर अधिकारी

१४. उदयपुर बेलकाका ३० वर्षीय सन्तोष विश्वकर्मा

१५. ललितपुर महानगरपालिका–७ का ३४ वर्षीय विनोद महर्जन

१६. बागलुङ नगरपालिका–४ का ३८ वर्षीय सौरन किशोर श्रेष्ठ

१७. सुनसरी इटहरी–१४ का ४० वर्षीय चंखे भनिने मोहन सरदार

१८. कीर्तिपुर नगरपालिका–२ का ४१ वर्षीय बुद्धिबहादुर तामाङ

१९. काभ्रे तेमाल–७ का ४३ वर्षीय दिल नारायण तामाङ

२०. धनकुटा पाख्रिबासका ६३ वर्षीय छत्रमान कुथुमी

भदौ २४ मा ज्यान गुमाउनेहरू

२१. चितवन कालिका–८ की १९ वर्षीया निखिता गौतम

२२. सिन्धुपाल्चोक चौताराका २० वर्षीय उमेश महत

२३. दोलखा बिगु–३ का २२ वर्षीय महेश बुढाथोकी

२४. संखुवासभा सिलिचोङ–३ का २२ वर्षीय प्रवीण कुलुङ

२५. दोलखा शैलुङ–४ का २२ वर्षीय अभिषेक चौँलागाईं

२६. नुवाकोट तादी–३ का २५ वर्षीय धीरज श्रेष्ठ

२७. सिराहा लहान–१५ का २६ वर्षीय विजय चौधरी

२८. गोरखा गण्डकी गाउँपालिका–४ का २७ वर्षीय अर्जुन भट्ट

२९. बझाङ दुर्गाथली–१ का भीमराज धामी

३०. पाँचथर हिलिहाङ–२ का ३० वर्षीय कमल भण्डारी

३१. नुवाकोट ककनी–१ का ३२ वर्षीय शुभराज बलामी श्रेष्ठ

३२. झापा अर्जुनधारा–११ का ३९ वर्षीय ज्ञानेन्द्र सेढाईं

३३. गोरखा पालुङटार–३ का ४२ वर्षीय अनिश पराजुली

३४. सुनसरी धरान–२२ का ४२ वर्षीय साजन राई

३५. उदयपुर चौदण्डीगढी–३ का ४८ वर्षीय सन्तोष भन्ने सारकुमार राई

३६. बैतडी दशरथचन्द–६ का ४८ वर्षीय निरज पन्त

भदौ २५ मा ज्यान गुमाउनेहरू

३७. सर्लाही लालबन्दी–५ का ३१ वर्षीय देवकुमार सुवेदी

३८. सिन्धुली तीनपाटनका १९ वर्षीय दिपेश सुनुवार

३९. बाजुरा स्वामिकार्तिक–२ का २१ वर्षीय ओझन

भदौ २७ मा ज्यान गुमाउनेहरू

४०. बैतडी शिवनाथ–२ का २० वर्षीय दीपक सिंह साउद

४१. झापा अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी

४२. नुवाकोट पञ्चकन्या–२ का ३९ वर्षीय लच्छुमान राई

प्रहरीतर्फका तीन सहिदको शालिक भने छुट्टै बनाइने

आन्दोलनमा मृत्यु भएका तीन प्रहरीको शालिक भने नेपाल प्रहरीले आफ्नै पहलमा निर्माण गर्ने योजना बनाएको बताइएको छ। मृत्यु हुने प्रहरीमा कास्की रुपा–५ का ३१ वर्षीय सहायक हवल्दार अमृत गुरुङ, सिन्धुली दुधौली–८ का २० वर्षीय प्रहरी सहायक निरीक्षक मिलन राय र दार्चुला लेकम–२ का ३२ वर्षीय प्रहरी जवान उत्तम थापा रहेका छन्।

हवल्दार गुरुङ प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत थिए भने असई राय र प्रहरी जवान थापा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए।

यसरी जेन–जी आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको स्मृतिलाई स्थायी रूपमा सुरक्षित राख्ने उद्देश्यले निर्माण गरिएको सहिद पार्क र शालिकले आन्दोलनको इतिहास तथा मानवीय क्षतिको सम्झना गराउने अपेक्षा गरिएको छ।

  • Jigyasanepal

थप