असार १८, २०८२ | ताप्लेजुङ
ताप्लेजुङको सिदिङबा गाउँपालिका–३ खिर्लाबोटेमा गएराति आएको भीषण पहिरोले एकै परिवारको घर पुरिँदा पाँच जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार राति करिब १ बजेतिर हस्तबहादुर कटुवालको घरमा पहिरो खस्दा उनकी ६० वर्षीया श्रीमती ठगमाया कटुवाल गम्भीर घाइते भएकी हुन्। उनलाई तत्काल झापा रेफर गरिएको प्रहरीले जनाएको छ।
सुतिरहेका बेलामा खसेको पहिरो, भाग्यले बाँचे परिवार
मध्यरातमा पहिरो खसेर घरै पुरिँदा सुतिरहेका हस्तबहादुर, छोरा जगत, बुहारी सरस्वती, छोरी सम्झना कटुवाल पनि घाइते भएका छन्। यद्यपि उनीहरूको अवस्था सामान्य छ। छेउको मतानमा सुतिरहेका छोराबुहारीले आमाबुवाको तत्काल उद्धार गरेका थिए।
लगातारको वर्षाले पहिरोको जोखिम उच्च
जिल्लामा पछिल्ला दिनहरूमा अविरल वर्षा भइरहेकाले पहिरो र बाढीको जोखिम बढेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्सपेक्टर रोहितकुमार शर्माले जानकारी दिए। ‘माटो गलिसकेको अवस्थामा साना पनि पहिरोहरू जानसक्ने भएकाले सतर्क रहन स्थानीयलाई आग्रह गरिएको छ,’ उनले भने।
स्थानीय तहको ध्यान खिचिँदै
घटनापछि स्थानीय प्रशासन, प्रहरी र वडास्तरमा उद्धार र सचेतना कार्य थालिएको छ। सम्भावित जोखिमयुक्त बस्तीहरूमा सतर्कता अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।
-
Jigyasanepal