Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

हिमाली र पहाडी जिल्लामा आज हर्षोल्लासका साथ फागुपूर्णिमा

रङ, अबिर र सद्भावको पर्व; उपत्यकामा सभ्य र व्यवस्थित रूपमा उत्सव

  •   ७ महिना अघि | १८ फाल्गुन २०८२, सोमवार

काठमाडौँ, फागुन १८ — फागुपूर्णिमा अर्थात् होली आज देशका हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, सद्भाव र उत्साहको सन्देश बोकेर आउने प्राचीन सांस्कृतिक परम्परा हो।

यस अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। तराईका जिल्लामा भने होली पूर्णिमाको भोलिपल्ट मनाइने परम्पराअनुसार यस वर्ष मङ्गलबार उत्सव मनाइँदैछ र सोही दिन सार्वजनिक बिदा दिइएको छ।

वसन्तपुरमा चिर ढाल्ने परम्परा

काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज विशेष रौनक देखिएको छ। फागुन शुक्ल अष्टमीका दिन गाडिएको चिरलाई विधिपूर्वक ढालेर बाजागाजासहित टुँडिखेलमा लगी दहन गर्ने परम्परा छ। चिरमा राखिएका ध्वजापताकालाई औषधोपचारमा उपयोगी मान्ने विश्वासका साथ सर्वसाधारणले लिने र खरानीको टीका लगाउने चलन पनि कायम छ।

आज राति ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि ल्याइएको चामलको भात र राँगाको मासु खुवाई सैनिक अस्पताल परिसरस्थित ‘जधु’ धारामा चुठाउने परम्परा पनि निभाइन्छ।

पौराणिक कथा र सांस्कृतिक अर्थ

त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त प्रह्लादलाई मार्न आगोले नछुने वरदान पाएकी होलिकालाई प्रयोग गर्दा होलिका स्वयं दग्ध भई प्रह्लाद सुरक्षित रहेको कथा यस पर्वसँग जोडिएको छ। त्यसैबेलादेखि असत्य र अत्याचारमाथि सत्यको विजयका रूपमा होली मनाउने परम्परा बसेको विश्वास गरिन्छ।

द्वापरयुगमा कंशद्वारा पठाइएकी पुतना राक्षसीको वधपश्चात् व्रजवासीले उत्सव मनाएको प्रसंग पनि धर्मग्रन्थमा उल्लेख छ।

सभ्य बन्दै गएको उत्सव

केही वर्षअघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व पछिल्लो समय व्यवस्थित र सभ्य बन्दै गएको छ। प्रहरीले कडाइ गरेपछि सडकमा हिँड्ने सर्वसाधारणमाथि इच्छा विपरीत रङ र लोला हान्ने प्रवृत्ति लगभग अन्त्य भएको छ। राजधानीका सडकमा फोहर पानी छ्याप्ने जस्ता विकृति पनि न्यून देखिएका छन्।

भक्तपुरको सूर्यविनायकबाट पुतलीसडक कामका लागि आएकी रमा केसीका अनुसार यस वर्ष फागुका अघिल्ला दिनहरूमा पनि सहज रूपमा आवतजावत गर्न सकिएको छ।

आयुर्वेदिक महत्व र सामाजिक उत्सव

आयुर्वेद विज्ञहरूका अनुसार प्राकृतिक रङ र अबिरले छालासम्बन्धी समस्या कम गर्न सहयोग पुर्‍याउने तथा शीतकालीन कफजन्य रोग घटाउन मद्दत गर्ने विश्वास छ। चिर दहनबाट निस्कने धुवाँले रोगाणु नष्ट गर्ने जनविश्वास पनि छ।

आज विभिन्न स्थानमा युवायुवती तथा सर्वसाधारण भेला भई रङ खेल्दै, बाजागाजासहित नाचगान गर्दै उत्सव मनाइरहेका छन्। केही समुदाय, विशेषगरी थकाली समुदाय, रङ्गीबिरङ्गी पोसाकमा सजिएर तीर हान्ने प्रतियोगिता गर्दै पारिवारिक जमघट गर्छन्।

सात दिनसम्म चल्ने फागु पर्वमा आफन्त भेला भई मीठा परिकारका साथ रमाइलो गर्ने परम्परा छ। नशालु पदार्थ सेवन, झैझगडा र रासायनिक रङको प्रयोगजस्ता विकृति भने पछिल्ला वर्षहरूमा घट्दो क्रममा रहेको देखिन्छ।

रङको यो पर्वले विविधता, सहिष्णुता र सामाजिक एकताको सन्देश दिँदै हिमालदेखि पहाडसम्म उल्लास थपेको छ।

  • Jigyasanepal

थप