चितवन, साउन ९ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका–३ शान्ति चोकमा बोलेरो गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटना बिहीबार राती १२:३० बजे भएको हो।
मृत्यु हुनेमा कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेल रहेका छन्। उनी सवार मोटरसाइकललाई खैरेहनीतर्फ आउँदै गरेको सब्जी बोक्ने बोलेरो गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार प्रदेश २–०२–००१ च०५१० नम्बरको बोलेरो गाडी जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३३६५ नम्बरको रात्रिबसलाई ओभरटेक गर्ने क्रममा बा प्र ०६–००१ प ३५०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिइएको थियो।
गम्भीर घाइते भएका कँडेललाई उपचारका लागि भरतपुर अस्पताल पुर्याइएको भए पनि राती १:१९ बजे उनको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा संलग्न बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेको छ।
रातको समयमा ओभरटेक गर्दा सावधानी नअपनाउँदा ज्यानै जाने गरी दुर्घटना हुने जोखिम बढेको भन्दै प्रहरीले सचेत रहन आग्रह गरेको छ।
-
Jigyasanepal