काठमाडौं — आरोपको बाढीबीच ‘द ओरिजिनल ब्रदर्स (TOB)’ समूहको कडा प्रतिक्रिया
जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न भएको आरोप लागेपछि ‘द ओरिजिनल ब्रदर्स (TOB)’ समूहले ती सबै दाबीको कडा खण्डन गरेको छ। समूहले आफूहरू कुनै विदेशी वा हिंसात्मक टोली नभई नेपालकै विविध जाति, समुदाय र पृष्ठभूमिका युवाहरूको समावेशी र जिम्मेवार समूह भएको स्पष्ट पारेको छ।
टीओबीका सल्लाहकार तथा कलाकार हाकिम गुरुङ (उर्फ सुरेन्द्र गुरुङ) ले आइतबार आफ्नो आधिकारिक फेसबुकमार्फत “टीओबी बाइकर्स ग्रुपको स्पष्टीकरण र अपिल” जारी गर्दै समूहप्रति लगाइएका आरोपहरूलाई ‘निराधार र राजनीतिक रूपमा प्रेरित प्रचार’ भनेर बताएका छन्।
उनी भन्छन् — “हामी कुनै विदेशी होइनौँ, न त कुनै हिंसात्मक गतिविधिमा संलग्न। भदौ २३ गते भएको जेनजी आन्दोलनमा हामी शान्तिपूर्ण रूपमा सहभागी थियौँ। तर भदौ २४ गते भएको तोडफोड र आगलागीमा हाम्रो समूहका कुनै सदस्य पनि संलग्न थिएनन्।”
गुरुङका अनुसार समूहमा नेपालका विभिन्न क्षेत्र र समुदायका युवाहरू रहेका छन्, जसले भ्रष्टाचार, अन्याय र अनियमितताविरुद्ध कानुनी र शान्तिपूर्ण तरिकाले आवाज उठाउने उद्देश्य लिएका छन्। उनले थपे — “हाम्रो समूहमा एक सदस्यका पूर्वज तिब्बती हुन्। तर त्यसका आधारमा उनलाई विदेशी भन्दै जातीय भेदभाव गर्नु अत्यन्त निन्दनीय छ। उनी पनि पूर्ण नेपाली नागरिक हुन् र देशको हानि हुने कुनै कार्यमा संलग्न भएका छैनन्।”
समूहले सञ्चारमाध्यम र सर्वसाधारणलाई आरोप लगाउँदा तथ्य प्रमाणका साथ बोल्न आग्रह गरेको छ। गुरुङले भनेका छन् —
> “यदि कसैसँग हाम्रा सदस्यले तोडफोड वा आगजनी गरेको ठोस प्रमाण — भिडिओ, तस्बिर वा कानुनी कागजात छ भने, हामी त्यसको सामना गर्न तयार छौँ। तर निराधार आरोप र असत्य प्रचारले हाम्रा सदस्यहरूको मानमर्यादामा धक्का पुर्याएको छ।”
समूहले आफूहरूविरुद्ध फैलिएका अफवाह र जातीय द्वेषपूर्ण टिप्पणी रोक्न आग्रह गर्दै चेतावनी दिएको छ कि “यदि यसप्रकारका गतिविधि जारी रहे, हामी कानुनी कारबाहीको बाटोमा जान बाध्य हुनेछौँ।”
टीओबीले आफ्नो समूहलाई “शान्तिपूर्ण, जिम्मेवार र समावेशी युवा संगठन” भन्दै देशप्रेम, पारदर्शिता र सामाजिक न्यायका लागि आवाज उठाइरहेको बताएको छ।
उनीहरूले अन्तिममा अपिल गर्दै भनेका छन्
> “हामी सबै नेपाली हौँ, हाम्रो लक्ष्य केवल देशको भलो हो। कृपया अफवाहमा नपरी सत्य र प्रमाणमा आधारित जानकारी लिनुहोस्।”
यसैबीच, ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले भने टीओबी समूहलाई २३ गतेको आन्दोलनमा आफूहरूले नबोलाएको स्पष्ट पारेका छन्।
-
Jigyasanepal