Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

भूकम्पको दशकपछि काभ्रे पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

  •   १० महिना अघि | २३ असार २०८२, सोमवार

काभ्रे ।

भूकम्प, कोभिड महामारी र विविध प्राकृतिक प्रकोपबीचको एक दशक लामो संघर्षपछि काभ्रे जिल्ला आइतबारबाट औपचारिक रूपमा ‘पूर्ण खोप सुनिश्चित जिल्ला’ घोषित भएको छ। जनस्वास्थ्यको दृष्टिकोणमा स्वास्थ्यको अधिकारको ग्यारेन्टीतर्फ लिएको यो महत्वपूर्ण उपलब्धि भएको बताइन्छ ।

काभ्रे जिल्ला पहिलो पटक २०७२ पुस २५ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। तर भूकम्पपछिको पुनर्निर्माण, कोभिड–१९ महामारी, सामाजिक प्राकृतिक विपत्ति, भौगोलिक परिवर्तन र कार्यक्रमगत चुनौतीहरूले निरन्तरतामा अवरुद्ध रहँदै आएको थियो । एक दशक लामो प्रयासपछि अहिले काभ्रेले फेरि पूर्ण खोप सुनिश्चितताको पुनःघोषणा गर्न सफल भएको छ।

धुलिखेल नगरपालिकाको सभाहलमा आयोजित जिल्ला स्तरीय घोषणा तथा दिगोपनासम्बन्धी समारोहले यसपटकको प्रयासलाई संस्थागत गर्दै नयाँ उचाइमा पुर्‍याएको सहभागी अतिथिहरु चौरी देउराली गाउँपालिका का अध्यक्ष रेणुका चौलागाईं, धुलिखेल नगरपालिका का प्रमुख मेयर अशोक ब्यान्जु लगायतले बताए ।

साविकका ८७ गाविसबाट हाल १३ वटा स्थानीय तह र १३५ वडामा विभाजित काभ्रे जिल्लामा वडा तहसम्मका स्वास्थ्य संस्थामार्फत खोप सुनिश्चितता कार्यक्रम सञ्चालन गरिएको हो। जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागीश्री कक्षपतिले स्थानीय सरकारको सक्रियता, सहकार्य र स्वामित्वपूर्ण कार्यशैलीले यो सम्भव भएको बताइन्। “अब हाम्रो लक्ष्य खोपको दिगोपना कायम गर्दै निरन्तरता सुनिश्चित गर्नु हो,” उहाँको भनाइ थियो।

बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेन्द्रकुमार झाका अनुसार काभ्रे प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला बनेको हो। बाँकी जिल्लामा समेत तयारी गरिँदै प्रदेशस्तरीय घोषणा गरिने उनको भनाइ थियो। उनले देशभर १६ हजारभन्दा बढी खोप केन्द्रमार्फत नियमित सेवा सञ्चालित रहेको जानकारी दिँदै खोपको खेरजाने दर न्यूनीकरण र गुणस्तरीता कायम गर्न सबै पक्ष जुट्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उत्कृष्ठ स्वास्थ्यकर्मीहरु १३ वटै स्थानीयका लाई छनोटगरी सम्मान गरिएको थियो । चलाल गणेशस्थान स्वास्थ्य चौकीकी इन्दिरा बुढाथोकी, स्वास्थ्यकर्मीहरूमा कान्छा बानिया, विशाल खाइजु, ममता श्रेष्ठ, श्रीराम कुमार राम, शुभेच्छा देवी कायस्थ, निरमाया लामा, इन्दिरा खड्का बुढाथोकी लगायत सम्मानित भएका थिए । उनीहरूले स्वास्थ्य क्षेत्रमा दिएको योगदानको सामाजिक मूल्याङ्कन हुनु हर्षको विषय भएको प्रतिक्रिया दिए। नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले “पूर्ण खोप सुनिश्चितता मात्र होइन, यसको दीगो अभ्यासमा सञ्चारको भूमिकासमेत निर्णायक रहनेछ,” भन्दै सञ्चारकर्मीहरू जनस्वास्थ्यको अभियानसँग सधैं साथमा रहने प्रतिबद्धता जनाए।

त्यस्तै, बागमती प्रदेशका स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले धुलिखेलको स्वास्थ्य पूर्वाधार र प्राविधिक पहुँचबाट प्रभावित हुँदै प्रदेश सरकारले खोप अभियान प्रवर्द्धन गरिरहेको बताइन्। “स्रोत, सहभागिता र संस्थागत समर्पणको सन्तुलनले मात्रै यस्ता उपलब्धि सम्भव छन्,” उनको भनाइ थियो।

आर्थिक वर्ष २०८१/८२ मा मात्रै काभ्रे जिल्लाका ४,२४१ जना बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरेका छन्। यो संख्यात्मक उपलब्धि मात्र होइन, दिगो स्वास्थ्य संरचनाको प्रतिबिम्ब हो।

‘स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता’ भन्ने नाराले अभियानको आत्मा उजागर गरेको छ । यो उपलब्धिसँगै अब काभ्रे जिल्ला ‘स्वास्थ्यमैत्री जिल्ला’ को बाटोतर्फ अगाडि बढ्ने अपेक्षा गरिएको छ। तर चुनौतीहरू अझै बाँकी छन् सेवा निरन्तरता, गुणस्तरको निगरानी, सूचना व्यवस्थापन, तथा जनविश्वासको स्थायित्व जस्ता पक्षमा अझ धेरै काम आवश्यक देखिन्छ। 

  • Jigyasanepal

थप