सप्तरी, साउन २१ ।सीमावर्ती क्षेत्रमा दोहोरिँदो झडप र गोलीकाण्डबीच फेरि एक नेपाली नागरिकले प्रहरीको गोलीका कारण ज्यान गुमाएका छन्। सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मंगलबार राति प्रहरीको गोली लागेर मृत्यु भएपछि स्थानीयस्तरदेखि संघीय तहसम्म सुरक्षा संयन्त्रको कार्यशैलीप्रति गम्भीर प्रश्न उठेको छ।
एक रात, एक गोली, एक मृत्यु
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार भारततर्फ मदिरा तस्करी हुन लागेको सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। घटनास्थलमा झडप भएपछि चार राउण्ड हवाई फायर गरिएको दाबी छ। सोही क्रममा लालुलाई तिघ्रामा गोली लागेपछि गजेन्द्र नारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
तर मृतकका परिवार, स्थानीय जनप्रतिनिधि र नागरिक समाजले घटनालाई "पूर्वनियोजित शक्ति प्रदर्शन" भनेका छन्।
स्थानीय वडाध्यक्षको गम्भीर आरोप
राजगढ–२ का वडाध्यक्ष जितेन्द्रकुमार यादवले प्रहरीको गोली अनावश्यक भएको बताउँदै भने, "जिल्लाबाट आएको टोली ‘सिंघम’ बन्न खोज्दा एक युवा जीवन गुमाउनुपर्यो।"
उनले घटनास्थल नजिकै रहेको प्रहरी चौकीको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। "स्थानीय प्रहरीको जानकारीबिना गरिएको अप्रेशन संकास्पद छ," उनले थपे।
तीन वर्षमा तीन मृत्यु: प्रहरीकाे गोली या तस्करको गाडी?
यो घटनाले सीमावर्ती क्षेत्रमा दोहोरिँदो ज्यान जाने घटनाको सूचीमा नयाँ थपेको छ।
२०७९ भदौ १३: सिरहाको लगडिगोठमा नेपालबाट भारततर्फ मदिरा तस्करीमा प्रयोग भएको स्कर्पियोले किच्दा एसएसबीका हेडकन्सटेबल देवराज शर्माको मृत्यु।
२०८० मंसिर १६: सिरहा, बरियापट्टीमा तस्कर समूहको गाडीले ठक्कर दिँदा सशस्त्र प्रहरी सई लक्ष्मण यादवको ज्यान गयो।
२०८२ साउन २०: सप्तरीमा प्रहरीको गोलीबाट लालु यादवको मृत्यु।
मदिरा तस्करी र सीमावर्ती चुनौती
बिहारमा मदिरामाथि पूर्ण प्रतिबन्ध लगिएपछि नेपालतर्फबाट हुने तस्करी तीव्र बनेको भारतीय पक्षको भनाइ छ। एसएसबी र भारत सरकार नेपालसँग सीमामा मदिरा नियन्त्रणका लागि बारम्बार लविङ गरिरहेका छन्।
गत वर्ष काठमाडौंमा भएको सीमा सुरक्षा बैठकमा पनि एसएसबी महानिर्देशक अमृतमोहन प्रसादले यो विषय बलियोसँग उठाएका थिए। तर, नीतिगत निर्णय नभएपछि यस्तो अवैध कारोबार अझ मौलाउँदै गएको सशस्त्र प्रहरी स्रोत बताउँछ।
प्रहरी संयन्त्रप्रति शंका
घटनापछि वडाध्यक्षसहित स्थानीयहरू प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र लिएर पुगे। उनीहरूले दोषी प्रहरी अधिकारीलाई निलम्बन गर्न, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र निष्पक्ष छानबिन गर्न माग गरेका छन्।
पूर्व एआईजी एक प्रहरी अधिकारी भन्छन्, "सामान्य विवादमा गोली चलाउनु कमजोरीको संकेत हो। सुरक्षा संयन्त्रले आत्मसंयम गुमाउँदा नागरिकको ज्यान जानु गम्भीर विषय हो।"
लागु औषध र मदिरा: सीमाको दोहोरो पीडा
सप्तरी, सिरहा, रौतहट, सर्लाही लगायतका जिल्लाबाट घरेलु मदिरा भारत जान्छ, भने औषधिजन्य लागु औषध नेपाल भित्रिन्छ। सुरक्षाविद्हरू भन्छन्, "यी तस्करीहरू एक अर्कासँग गहिरो रूपमा गाँसिएका छन्।"
-
Jigyasanepal