शुकदेव थपलिया
काभ्रे । पाँचखाल नगरपालिका–७ र ८ का स्थानीयबासी अस्फाल्ट (अलकत्रा) सम्बन्धी सामग्री उत्पादन उद्योग स्थापना गर्ने प्रयासविरुद्ध निरन्तर आन्दोलित भइरहेका छन्। कृषियोग्य उर्वर भूमिमा प्लान्ट स्थापना गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने र दीर्घकालीन कृषि उत्पादन घटाउने नजिकैको मन्दिर समेत लाई विस्थापित गराउन लागेको भन्दै स्थानीयले महिनौँदेखि विरोध गरिरहेका छन्।
यसैबीच, सोमबार आयोजित दोस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा युवाहरूले प्लान्ट स्थापना नगर्न माग गर्दै कार्यक्रम नै रोकिदिएका थिए। यस घटनाले विवाद झनै तीब्र भएको छ।
विभिन्न विज्ञहरूले समेत आस्फल्ट प्लान्टबाट निस्कने प्रदूषणले मानवीय स्वास्थ्यमा गम्भीर असर गर्ने चेतावनी दिएका छन्। उनीहरूको भनाइमा, यस्तो उद्योगले खेतीपातीमा नोक्सानी पुर्याउने मात्र नभई दीर्घकालीन रूपमा कृषि उत्पादनमा कमी ल्याउने खतरा छ।
तर पाँचखाल नगरप्रमुख महेश खरेलले भने नगर कसैको व्यक्तिगत सम्पत्ति नभएको जिकिर गर्दै, कानुनी मापदण्ड पूरा गर्ने जुनसुकै उद्योगलाई नेपालभर सञ्चालन गर्ने अधिकार रहेको अभिव्यक्ति दिएका छन्। नगर प्रमुखको यो भनाइपछि विवाद राजनीतिक रूपमा समेत ध्रुवीकृत बनेको छ। बन्दन भगवती निर्माण सेवा कम्पनी ले उक्त उद्योग स्थापना गर्न तीन वर्ष गहि देखि जग्गा भाडामा लिएर नगरको प्रभावमा बलमिच्याइ मार्फत काम शुरू गर्न लागिएको स्थानीयहरूले बताउँदै आएका छन् ।
सत्तारूढ दलभित्रै मतभेद देखिएको यो विषयमा नेपाली कांग्रेसभित्रका केही शक्तिशाली समूहले उद्योग स्थापना रोक्नुपर्ने धारणा राखेका छन्। अन्य दलहरूले पनि विज्ञप्ति जारी गर्दै आस्फल्ट प्लान्ट स्थापना नगर्न चेतावनी दिँदै जनताको आवाजलाई बेवास्ता नगर्न आग्रह गरेका छन्।
यता, संघीय संसदका सदस्य तथा पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले कडा चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन् :
“पाँचखालमा स्थापना गर्न लागिएको अस्फाल्ट उद्योगले जनस्वास्थ्य र कृषि उत्पादनमा गम्भीर नकारात्मक प्रभाव पार्ने भएकाले यसलाई केवल कानुनी पाटोको आधारमा अगाडि नबढाइयोस्। स्थानीयको अन्तिम सुझाव र प्रतिकृया नलिई बलजफ्ती स्थापना गर्न खोजिएको खण्डमा यो जनतामाथिको बलमिच्याइँ हुनेछ। अनावश्यक बल प्रयोग बन्द गरियोस् र उपयुक्त स्थान खोजेर मात्र उद्योग स्थापना गर्न विचार गरियोस्।”
स्थानिय विरोध, विज्ञको सुझाव, दलहरूको चेतावनी र पूर्वमन्त्रीको ध्यानाकर्षणपछि पाँचखालको अस्फाल्ट प्लान्ट विवाद अब थप चर्किने संकेत देखिएको छ।

-
Jigyasanepal