Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

रुबी हत्या प्रकरणमा सुटकेस बन्यो महत्त्वपूर्ण ‘क्लू’, यसरी हुँदै छ अनुसन्धान

  •   १ वर्ष अघि | ९ भदौ २०८२, सोमवार

काठमाडौं । रौतहटमा हत्या गरी सुटकेसमा फालिएकी रुबीकुमारी साह सुडीको हत्या अनुसन्धानमा प्रहरीले महत्त्वपूर्ण 'क्लू' फेला पारेको छ । घटनामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेपछि प्रहरीले अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो ।

मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले आफूहरू हत्याराको नजिक पुगेको दाबी गरे । “हामी हत्याराको नजिक छौँ । केही महत्त्वपूर्ण क्लू फेला पारेका छौँ । शव व्यवस्थापन गर्न सहयोग पुर्‍याउने युवालाई पक्राउ पनि गरेका छौँ । मुख्य हत्याराको खोजी भइरहेको छ,” डीआईजी चतुर्वेदीले भने ।

आइतबार बिहान गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुबी मृत अवस्थामा भेटिएकी थिइन् । उनको शवलाई प्रहरीले गौर नागरपालिका–९ स्थित सिरसिया सडकखण्डमा सुटकेसभित्र प्याक गरेर राखेको अवस्थामा फेला पारेको थियो ।

रौतहटकै माधवनारायण नगरपालिका–६ माइती भएकी रुबीले भारतमा विवाह गरेकी थिइन् । तर, केही समयदेखि उनी रौतहटमै बस्दै आएकी थिइन् । चार वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा लिएर बस्दै आएकी रुबी शनिबार बजार निस्किएकी थिइन् ।

प्रहरीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थल शव भेटिएको ठाउँभन्दा टाढा भएको देखिएको छ । शवको शरीरमा चोटपटक पनि छैन । तर, नाकबाट रगत बगेको पाइएको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, रुबीको हत्यामा संलग्न युवा केही समयअघि मात्रै वैदेशिक रोजगारीबाट नेपाल फर्किएको आशंका गरिएको छ । “हत्यामा संलग्न युवा केही समय अघि मात्रै नेपाल फर्किएकोजस्तो देखिन्छ । उनको सामाजिक सञ्जालमा राखिएको सुटकेस र रुबीको शव राखेर फ्याँकिएको सुटकेस मिल्दोजुल्दो देखिन्छ,” अनुसन्धानमा संलग्न ती अधिकारीले भने ।

प्रहरीका अनुसार, ती युवा रुबीसँग विवाह हुनुभन्दा पहिलेदेखि नै सम्पर्कमा रहेको खुलेको छ । विवाहपछि पनि उनीहरूबीच कुराकानी हुने गरेको देखिएको छ ।

आमासँग साढे ६ बजे अन्तिम फोन

करिब १३ वर्षअघि नै भारतको मुजफ्फरपुरका शिवसागरसित विवाह गरेकी रुबी गएको जेठदेखि मात्रै रौतहटको महादेवपट्टीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । रुबीसँगै उनकी आमा पनि कोठामा बस्दै आएकी थिइन् ।

शनिबार साँझ रुबी कोठाभन्दा करिब दुई किलोमिटर टाढा गौर हिँडिन् । ब्युटी पार्लर जाने भनेर उनी घरबाट निस्किएकी थिइन् । रुबीका आफन्त मुना पटेलका अनुसार, गौरमै रहेको काजल ब्युटी पार्लरबाट उनी साढे ६ बजे निस्किएको खुलेको छ ।

पटेलले भने, “काजल ब्युटी पार्लरबाट साढे ६ बजे निस्किएर घर फर्किंदा आमा र छोरासित फोनमा कुरा भएको थियो । आमालाई घरमा के ल्याउन भनेर समेत सोधेकी थिइन् । छोराका लागि जुस ल्याइदिने बताएकी थिइन् । त्यसपछि भने उनी सम्पर्कमा आइनन् ।”

साढे ६ बजे नै घर फर्किने भनेर फोन गरेकी आमालाई ढिलोसम्म पनि घर नफर्किएपछि उनले रुबीलाई फोन गरिन । तर, रुबीको फोन उठेन । करिब ९ बजेतिर पनि उनको फोन अफ भयो ।

शनिबार रातभर रुबीकी आमा छोरीको प्रतीक्षामै बसिन् । तर, आइतबार बिहान उनी सुटकेसमा भेटिएको शवको सनाखत गर्न जानुपर्‍यो ।

प्रहरीका अनुसार, शव भेटिएको स्थानभन्दा भारतीय सीमा बोर्डर करिब दुई किलोमिटर टाढा छ । तर, भारतीय सीमा बोर्डर बैरगनियामा पछिल्लो समय सुरक्षा जाँचमा कडाइ गरिएको छ ।

मृतक रुबीका आफन्तले घटना गौर क्षेत्रमै घटेको आशंका गरेका छन् । भारतको मुजफ्फरपुरबाट रुबीका श्रीमान् शिव सागर घटनापछि रौतहट पुगेका छन् । होटल व्यवसाय गर्दै आएका शिव सागरले छोराको पढाइका लागि श्रीमतीलाई रौतहट राखेका थिए । मुजफ्फरपुरको घरबाट स्कुल टाढा भएका कारण श्रीमती र छोरालाई रौतहट राखेको खुलेको छ ।

  • Jigyasanepal

थप