कविता : ✍🏼 रामकृष्ण राई
सतहमै शान्तिको आवरण,
हाँसोको झल्को छ छायाँ;
भित्र कतै बल्छ एक आगो,
जहाँ आँधीले लेख्छ माया।
झल्किन्छ उज्यालो अनुहार,
हाँसोको संकेत छ टाँसिएको;
तर पिंजडामा बन्द छु म,
दानवले अधिकार लिएको।
चुप लागुँ भने ऊ चिच्याउँछ,
अन्धकारबाट कराउँछ;
भागूँ भने पछि लाग्छ,
आत्माको गर्भमै बसी रमाउँछ।
न त देखिन्छ, न समातिन्छ,
साससँगै बग्ने चाल हो ऊ;
बिहान–साँझ, रात–दिनभरि,
म भित्रको एक तुफान हो ऊ।
कहिले क्रोधको ज्वालाजस्तै,
कहिले डरको कठोर घाम;
शंका बुनिन्छ जालजस्तै,
हराउँछ आशाको नाम।
सपनाका बगैंचामा सल्काउँछ ऊ,
अनायासै एक आगो;
घामको पिठमा ल्याउँछ शीत,
बगाउँछ उज्यालो भागो।
छायाँ होइन, न प्रतिबिम्ब,
ऊ त लुकेको सत्य हो;
पीडाको खोजमा डुबेको,
अनन्त चोटको वस्तु हो।
जति जित्न खोज्छु म,
त्यति गहिरिन्छ घाउ उसको;
ऊ शत्रु होइन सधैं—
आधा म, आधा छायाँको दु:ख हो।
तर लडिरहेछु म निरन्तर,
पलपल, साँझ र बिहान;
अन्त्य टाढा छ युद्धको,
मुक्तिको बाटो हो काँडेदार बिहान।
शब्दमा बाल्छु म आगो,
यातनालाई कविता बनाउँछु;
एकदिन त्यही स्वर–ज्वालामा,
म मुक्तिको गीत सुनाउँछु।
-
Jigyasanepal