शुकदेव थपलिया काभ्रे ।
भदौ महिनाको पहिलो मंगलवार। चर्को घाम, झुलाउने गर्मी, अनि टाढा–टाढाबाट पैदल यात्रामा आएका सयौं मानिस। भुम्लु गाउँपालिका प्राङ्गण मानौँ कुनै भव्य पर्व मनाइँदै थियो। तर यो उत्सव कुनै विवाह वा जात्राको भन्दा कम थिएन । किनभने कार्यक्रममा भव्य पञ्चे बाजा सहित मानिसहरू उपस्थिति थिए केही जेष्ठ नागरिक नाचगान समेत गर्दै थिए। तर यो थियो लालपुर्जा विहिन, भूमिहीनहरूको पीडामाथि विजयको दिन थियो।
६० वर्ष नाघेका दमन बहादुर परियार र जुक्त बहादुर परियारहरुले आफ्नै पुख्र्यौली शिल्प पञ्चेबाजा बजाउँदै कार्यक्रमको रौनक बढाइरहेका थिए। बाजा–गाजासहित लालपुर्जा लिन आएका उनीहरूको अनुहारमा विगतका पीडा हराउँदै नयाँ आशाको उज्यालो झल्किएको थियो।

सबैभन्दा भावुक क्षण थियो। ८१ वर्षीय गिर्भनाथ उप्रेती र ८४ वर्षीया जयकुमारी तामाङको। गिर्भनाथ दायाँ हातमा रातो प्रमाणपत्र, (लालपुर्जा) बायाँ हातमा लौरो, आँखामा आँसुका धार लिएर अतिथिलाई खादा लगाउँदै आभार मान्दै थिए। जयकुमारीले भावुक स्वरमा भन्दै थिइन्, “अब हामी सुकुम्बासी भएर होइन, सम्मानपूर्वक मर्न पाउने भयौं।”
फलाटेका ८२ वर्षीय मनिक बहादुर भुजेल र २००३ सालमा जन्मिएका मकरबहादुर खड्काले पनि जीवनकै ठूलो सपना साकार भएको दिनका रूपमा लालपुर्जा पाएको दिनलाई आफ्नो खुशीको सीमा नाघेको दिनको रूपमा व्यक्त गरे।
यो संघर्ष पछिको एक ठूलो विजयी दिन भन्दा कम होइन उनीहरूले पाएको लालपुर्जा सिर्फ कागजको टुक्रा लिनको लागि थिएन । यो आधा शताब्दी लामो पीडादायी यात्राको विराम थियो।
५० वर्षको पीडादायी विजयी यात्रा
साबिकको फलाटे र भुम्लुटार गाविसमा २०३२/३३ सालमै नापजाँच सम्पन्न भए पनि जग्गाधनी प्रमाणपत्र बाँडफाँड हुन सकेको थिएन। सीमाना विवाद, नापीमा भएको त्रुटि, कागजातको अद्यावधिक अभाव, भूकम्प र महामारीजस्ता विपत्तिले समस्या झन् गहिरो बनाइदिएको थियो।
जग्गाधनी प्रमाणपत्र नभएकै कारण उनीहरूले आफ्ना घर–जग्गा धितो राखेर ऋण लिन सकेनन्, भूकम्पपीडित राहत पाउन सकेनन्, सरकारी योजनाबाट वञ्चित भए। न नक्सा, न प्रमाणपत्र युगौँसम्म भूमिहीनको जीवन बाँच्न बाध्य सयौंले लालपुर्जा विहिन जीवन बाँचेर मर्न बाध्य भए।
आँसु र भावनाबीचको ऐतिहासिक दिनको रूपमा भुम्लुका नागरिकहरूले लिएका थिए । लामो प्रतीक्षा र संघर्षपछि मंगलबार ३८२ घरधुरीलाई एकैसाथ जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले गरेका थिए। प्रमुख अतिथि गरिबी निवारण मन्त्री बलराम अधिकारी थिए भने विशेष अतिथिमा प्रतिनिधि सभा सांसद गोकुल वास्कोटा, प्रदेश सांसद लक्ष्मण लम्साल, नापी विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नापी कार्यालय प्रमुख अशोक कुमार भुसाल लगायत उपस्थित थिए।
अध्यक्ष भुजेलले भने, “भुम्लुमा अब कुनै नागरिक लालपुर्जा बिना पीडादायी जीवन बिताउनु पर्ने छैन। बाँकी घरधुरीलाई पनि छिट्टै लालपुर्जा उपलब्ध गराउने कार्य भइरहेको छ।”
उपाध्यक्ष जितेन्द्रमान लामाले भूमिहीनको अधिकार सुनिश्चित गर्नु गाउँपालिकाको पहिलो प्राथमिकता भएको बताए।
पूर्व अध्यक्ष गुमानध्वज कुँवरले संघर्षको लामो यात्रा सम्झिँदै जनप्रतिनिधि, कर्मचारी, प्राविधिक सबैको निरन्तर प्रयासले आजको दिन सम्भव भएको बताए।

नापी कार्यालय काभ्रेका प्रमुख अशोक कुमार भुसालले भूम्लुमा भएको कठिनाइ, प्राविधिक अवरोध र ५० वर्षदेखि थन्किएका फाइल कसरी अद्यावधिक गरेर समाधान गरिएको भन्ने तथ्यसमेत राखेका थिए । उनले २०३० सालको नापी हुँदा देखि को कागजात अध्ययन गर्न निकै कठिनाई भएको भन्दै त्यस कार्यमा खटिने सबै कर्मचारीहरु प्रति आभारी रहेको बताउँदै उनीहरूले मध्ये राति देखि दिन बिहान सम्म खटेर गरिएको कामको प्रतिफल आज गाउँका जेष्ठ नागरिकका आँखामा देखिएको हर्षको आँसुले उचित सम्मान मिलेको बताए। आँसु, पीडा र विजयको कथा लालपुर्जा पाएका ज्येष्ठ नागरिकहरू आफ्ना संघर्षका कथाहरू सुनाउँदै गर्दा उपस्थित धेरैको आँखा रसाएका थिए।
गिर्भनाथ उप्रेतीले भने, “यो दिन देख्न पाएपछि मेरो जीवन धन्य भयो। अब मृत्युले डर देखाउँदैन। अब आफू जन्म लिएको सार्थक भएको समेत भावुक अभिव्यक्ति दिएका थिए ।
जयकुमारी तामाङको आँसुमा भने आधा शताब्दीको पीडा मिसिएको थियो। उनले भनिन्,“मेरो जीवन सुकुम्बासी भएर बित्यो, अब मात्र मन शान्त भयो।”बाँकी भूमिहीनका लागि आशा जीवित भएको प्रतिक्रिया सहभागि अतिथिहरुले गरेका छन् ।
गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले आफू पनि लालपुर्जा विहिन नागरिक भएको पीडादायी कुरा गर्दै आज यो अवस्था आउनुमा सबै सहयोगीहरुको साथ ले मात्रै सम्भव भएको भन्दै सबै जनताको खुशी सँगै आफूहरूपनि आज इतिहास कोर्न सकेकोमा गर्व महसुस गरिएको भन्दै उनले लालपुर्जा लागि निवेदन दिएका बाँकी परिवारलाई पनि छिट्टै लालपुर्जा वितरण हुने जानकारी दिए। उनले भने, “अब भुम्लुमा कुनै नागरिक भूमिहीन भनेर पीडा भोग्नुपर्ने छैन। यो आज पहिलो सुरुवात हो। कार्यक्रममा उपाध्यक्ष जितेन्द्रमान लामाले आज भुम्लुको जनताको लागि गरिएको ऐतिहासिक कामले अरु थुप्रै जनताको समस्या समेत हल गर्ने बल जनप्रतिनिधिहरु लाई मिलेको भन्दै यस अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।
गरिबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीन समस्या समाधानलाई मन्त्रालयको प्राथमिकतामा राखिएको भन्दै यस अभियानलाई छिट्टै देशभरि फैलाउने प्रतिवद्धता जनाए।
फलाटे र भुम्लुटारका बासिन्दाले ५० वर्षदेखि पर्खिएको यो दिन सिर्फ प्रमाणपत्र प्राप्तिको दिन थिएन यो संघर्ष, आँसु र धैर्यको विजय थियो। आज लालपुर्जा हातमा लिएर फर्किएका बुढाबुढीहरूले आँसु पुछ्दै भने, “अब मर्नुअघि आफ्नो नामको जग्गा पाएकोमा सन्तोष छ।” “लालपुर्जासँगै भुम्लुका ज्येष्ठ नागरिकहरूले आज आफू सुकुम्बासी होइन, सम्मानित नागरिक भएको भन्दै गर्व बोकेर आँसु झारेका छन् ।
उक्त लालपुर्जा विहिन भुमलुको दुई वडा ७ र ८ मा मिति २०३२/३३ सालको नापीको तथ्यगत विवरण अनुसार नक्सा २२ थान, फिल्डबुक १७ थान ६ ठेली थियो । जम्मा कायम कित्ता संख्या ६ हजार ५सय ५१ कित्ता रहेकोमा व्यक्ति विशेषको नाममा दर्ता कित्ता संख्या –५ हजार १ सय ५ र दर्ता बाँकी कित्ता संख्या ८ सय ८९ रहेको र अरु सरकारी सार्वजनिक प्रकृतीको जग्गा कित्ता संख्या २ सय १२ रहेको नापी कार्यालय काभ्रेले जनाएको छ ।
-
Jigyasanepal