चैत १६, २०८१ | काठमाडौं – राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि ५१ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई अमर्यादित तथा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ।
प्रदर्शनका क्रममा निजी सम्पत्ति, अस्पताल, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्र तथा यातायातका साधनमाथि तोडफोड र आगजनी भएको छ।
प्रहरीका अनुसार झडपमा नेपाल प्रहरीका ५३, सशस्त्र प्रहरीका २२ र प्रदर्शनकारी ३५ जना घाइते भएका छन्।
हिंसात्मक घटनामा तीनकुनेको अन्नपूर्ण कम्प्लेक्स, कोटेश्वर महादेवस्थान, विमानस्थल कार्गो कम्पाउन्ड, कोटेश्वर गणेश चोक, भाटभटेनी नजिक सरकारी गाडी, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र जस्ता स्थानमा आगलागी भएको छ।
त्यस्तै, एकीकृत समाजवादी पार्टी कार्यालय, बानेश्वर पुल नजिक, एयरपोर्ट क्षेत्र, सिनामंगल, रोयल रेस्टुरेन्ट, एरोम्याक्स कार्यालय लगायत १४ स्थानमा आगजनी भएको प्रहरीले जनाएको छ।
अन्नपूर्ण मिडिया हाउस, कान्तिपुर मिडिया हाउस, केएमसी अस्पताल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, समाजवादी पार्टी कार्यालय, वाग्मती करिडोर लगायतका स्थानमा पनि क्षति पुगेको छ।
प्रदर्शनकै क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट भएको पुष्टि भएको छ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन कडा सुरक्षा व्यवस्था गर्दै थप अनुसन्धान गरिरहेको जनाएको छ।
- Jigyasa media