काभ्रेपलाञ्चोक | जिज्ञासा नेपाल
काभ्रेपलाञ्चोक जिल्लाको दक्षिणी भेगमा अवस्थित सबैभन्दा ठूलो स्थानीय तह, महाभारत गाउँपालिका (क्षेत्रफल: १८६ वर्ग कि.मी.) ले सामाजिक रुपान्तरण र समावेशी विकासको यात्रालाई तीव्र बनाउँदै विभिन्न चेतनामूलक कार्यक्रमहरू संचालन गरिरहेको छ। २०८२ असार महिनामा पालिकाले निरन्तर रूपमा विविध समूहलाई समेट्दै ७ वटा फरक–फरक शीर्षकमा समाज रूपान्तरणका ठोस अभियान सञ्चालन गरेको छ।

बालविवाह र बाल अधिकारप्रति कटिबद्धता
२०७८ को जनगणना अनुसार १६,०७९ जनसंख्या रहेको पालिकामा बालबालिकाको हक, संरक्षण र सशक्तीकरणका लागि २०८२ असार १६ गते बालक्लव सञ्जाल गठन गरिएको छ। १९ वटा विद्यालयबाट आएका प्रतिनिधि बालबालिकाको सहभागितामा १७ सदस्यीय सञ्जाल गठन गरिएको हो, जसको संयोजकत्व जनकल्याण माविकी अनिता थिङले सम्हाल्ने भएकी छन्। कार्यक्रममा ५० बालबालिकाको प्रतिनिधित्व थियो।
सञ्जाल गठनकै दिन, बालविवाह अन्त्यका लागि अभिमूखीकरण कार्यक्रम पनि सम्पन्न भयो जसमा ९३ जना सहभागी थिए। मानवअधिकारकर्मी भोजराज तिमल्सिनाको सहजीकरणमा बाल अधिकार, विवाह प्रचलन, कानूनी व्यवस्था र इन्टरनेट जोखिमबारे विश्लेषण प्रस्तुत गरिएको थियो। सहभागीहरूलाई कार्ययोजना निर्माणका लागि समूहगत छलफलमा समेत संलग्न गराइएको थियो।

लैङ्गिक समानता र समावेशीकरणतर्फ स्पष्ट धारणा
२०८२ असार १७ गते सम्पन्न लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी अभिमूखीकरण कार्यक्रम मा ८३ जनाको सहभागिता थियो। कार्यक्रमले सामाजिक भूमिकाको पुनर्परिभाषा, लैङ्गिक अवधारणा र समावेशी अभ्यासलाई प्राथमिकतामा राख्दै सहभागीहरूलाई गहन जानकारी दिएको थियो।
गाउँपालिका अध्यक्ष कान्छालाल जिम्माको प्रमुख आतिथ्य र सामाजिक विकास संयोजक रमेशकुमार लुंगेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास शाखा र महिला तथा बालवालिका शाखाका प्रतिनिधिहरूले सशक्त मन्तव्य प्रस्तुत गरे।

लैंङ्गिक हिंसा र घरेलु हिंसाविरुद्ध सामूहिक आवाज
२०८२ असार १८ गते लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम सञ्चालन भयो जसमा ९० जनाको सहभागिता थियो। उपाध्यक्ष सागर मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा घरेलु हिंसा, कानुनी प्रावधान र पीडित सहयोग प्रणालीबारे गहिरो जानकारी दिइयो।
पछिल्लो दिन २०८२ असार १९ गते, गाउँपालिका वडा नं. १ गोकुलेमा घरेलु हिंसा अन्त्यका लागि सचेतना कार्यक्रम पनि सम्पन्न भयो। सो अवसरमा सहभागीहरूले आफ्ना व्यक्तिगत अनुभव पनि बाँडे। वडाध्यक्ष कान्छामान जिम्बाले आर्थिक समस्याका कारण उत्पन्न हुने घरेलु हिंसाबारे चर्चा गर्दै चेतनामूलक कार्यक्रमको महत्वलाई जोड दिनुभयो। ‘त्यहाँ सुनेर आइन्छ, घरमा गएर कुटाइ खाइन्छ’ भन्ने भनाइहरूमाथि गम्भीर छलफल भएको थियो।

सामाजिक विभेद र अन्तरजातीय समावेशी संस्कृतिको प्रवर्द्धन
२०८२ असार २० गते गोकुलेमा सम्पन्न सामाजिक विभेद उन्मूलनसम्बन्धी सचेतना कार्यक्रम मा जातीय विभेद, लैङ्गिक भूमिकाको पुनर्व्याख्या र सामाजिक समावेशीकरणबारे चेतना फैलाइएको थियो। ६७ सहभागीहरूमध्ये धेरैले आफ्ना समुदायमा हुने विभेदको अनुभव साझा गरे ।
त्यसको भोलिपल्ट २०८२ असार २१ गते भएको अन्तरजातीय सांस्कृतिक प्रवर्द्धनसम्बन्धी सचेतना कार्यक्रम मा सहभागीहरूले आ–आफ्ना समुदायमा रहेका सकारात्मक अभ्यास र परम्परागत मूल्यहरूबारे समेत चर्चा गरे।
महाभारत गाउँपालिकाले सञ्चालन गरेका यी विविध चेतनामूलक कार्यक्रमहरूले सामाजिक रूपान्तरण, समावेशी विकास, लैङ्गिक समानता र बालअधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। योजनाबद्ध रूपमा सञ्चालन गरिएका गतिविधिहरूले नारी सशक्तीकरण, किशोरकिशोरी अभिव्यक्ति, अन्तरसंवाद र सहअस्तित्वको सन्देश दिएको स्पष्ट देखिन्छ।
यस्ता निरन्तर गतिविधिहरूले पालिकालाई मात्र नभई, सम्पूर्ण काभ्रेपलाञ्चोक जिल्लाका लागि पनि सकारात्मक अभ्यासको उदाहरण बनाएको छ।




-
Jigyasanepal