काभ्रे असार २७ ।
काभ्रे जिल्लाको विशेषताको रूपमा परिचय समेत पाउँदै आएको बोधिचित्त (बुद्धचित्त) माला को लुटपाट चोरीको घटना नौलो होइन । तर यस वर्ष पनि टिप्ने सिजन नजिकिँदै गर्दा लुटपाटको घटना सार्वजनिक भएको छ । यसै बीच बुद्धचित्त माला बनेपामा भएको चोरीपछिको घटनामा संलग्न फरार तीन जना युवा प्रतिवादीलाई काभ्रे प्रहरीले पक्राउ गर्न सफल भएको छ। घटनाको अनुसन्धान र सुराकीको आधारमा प्रहरीले लुकिछिपी हिँडिरहेका तीन युवालाई पक्राउ गरी म्याद थप अनुमति लिएर थप अनुसन्धान अघि बढाएको हो।
२०८२ असार २१ गते राति करिब १:२० बजे बनेपा नगरपालिका–१०, रेशम मार्गस्थित भवानी पाण्डेको घरको कम्पाउण्डमा रहेको बुद्ध चित्तको माला चार/पाँच जना अपरिचित युवकहरुले चोरी गरेका थिए। घटनापछि उनीहरूले प्रयोग गरेका चार जोर चप्पल र जुत्ता त्यहीँ छाडेर फरार भएका थिए।
उक्त चोरी घटनामा भुक्तभोगी सार्कीमान तामाङले २२ गते बनेपा ईलाका प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए। उजुरीपछि घटनास्थलमा रहेको CCTV फुटेज जाँच गर्दा चोरीमा संलग्न युवकहरूको अनुहार र गतिविधि प्रस्ट देखिएको थियो। पक्राउ परेकाहरूमा महाभारत गाउँपालिका–४का १९ वर्षका विवेक लामा,बनेपा नगरपालिका–२ का वर्ष २० का, मिलन मोक्तान बनेपा नगरपालिका–३ बस्ने वर्ष १९ का लबाड तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई असार २६ गते बिहान करिब ११:३५ बजे, बनेपा नगरपालिका–८ चारदोबाटो क्षेत्रको भित्री सडक खण्डमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीले तत्काल जरुरी पक्राउ पुर्जी तथा खानतलासी पुर्जी जारी गरी खानतलासी मुचुल्कासहित कानुनी प्रक्रिया पूरा गरेको छ। पक्राउ परेकाहरूलाई चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत मुद्दा दायर गरिएको छ।
यस घटनासम्बन्धी मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले मिति २०८२ असार २६ गतेबाट लागू हुने गरी चार दिनको म्याद थप स्वीकृत गरिसकेको छ। अहिले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले जानकारी दिएका छन्। काभ्रेमा यस अघि रोशीमा एक बुद्धचित्तको बोट नैं मध्यरात मा काटिएको घटना केही वर्ष देखि चर्चामा छ । काभ्रेको विशेष तेमाल, रोशी ,नमोबुद्ध लगायत ठाउँमा बुद्धचित्त माला फलेर अहिले टिप्ने सिजन सुरु भइरहेको छ ।
-
Jigyasanepal