काभ्रे, असार २४ —
काभ्रेको चौंरीदेउराली गाउँपालिकामा एक गम्भीर घटना सार्वजनिक भएको छ, जसले स्थानीय प्रशासनको मर्यादा र कर्मचारी सुरक्षामाथि ठुलो प्रश्न उठाएको छ। गाउँपालिकाका एक वडा अध्यक्षकै नेतृत्वमा भएको कथित गुण्डागर्दीपछि कार्यालयको सम्पूर्ण कामकाज ठप्प पार्ने विज्ञप्ति कर्मचारीहरुले निकालेका छन् ।
हातहतियार सहित मद्यप अवस्थामै कार्यालयमा छिरेर आक्रमण
२०७९ सालमा स्थानीय तहको निर्वाचनमार्फत निर्वाचित वडा नं. ७ का अध्यक्ष श्री चन्द्रराज लामाले मिति २०८२ असार २२ र २३ गते, केही अपरिचित व्यक्तिहरूसँग मिलेर गाउँपालिका कार्यालयमै हातहतियार सहित प्रवेश गरेका थिए। उनीहरू अत्यधिक मद्यप अवस्थामा रहेको र कार्यालयमै कार्यरत कर्मचारीमाथि हातपात, गालीगलौज तथा मानसिक हिंसा गरेको पीडित कर्मचारीहरूले जारी विज्ञप्तिमा उल्लेख गरेका छन्।
कसलाई के भयो ?
- इञ्जिनियर मानुस राई
- लेखा अधिकृत रामचन्द्र भोछिभोया
- ख.पा.स.टे. चन्द्र प्रसाद खनाल
- स.ई. मलिका खड्का
उनीहरू सबैलाई कार्यकक्षमै जबर्जस्ती हातपात र बेइज्जती गरिएको बताइएको छ। कर्मचारीहरूले घोर आपत्ति जनाउँदै उक्त घटनालाई कार्यालयभित्रको सुरक्षामाथिको गम्भीर हमला र कर्मचारी मर्यादाको अपमानको संज्ञा दिएका छन्।
कामकाज ठप्प, कर्मचारीले काम नगर्ने घोषणा
पीडित कर्मचारीहरूले सामूहिकरूपमा विज्ञप्ति जारी गर्दै सुरक्षाको प्रत्याभूति नभएसम्म कुनै पनि प्रशासनिक वा प्राविधिक कार्य नगर्ने निर्णय गरेका छन्। उनीहरूले भनेका छन्,
“हामीमाथि मानसिक तनाव अत्यधिक छ। यस्तो अवस्थामा सेवा प्रवाह सम्भव छैन। सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमा चाहन्छौं।”
कर्मचारीको सुरक्षा खोई ?
घटनापछि जिल्लाभर नै स्थानीय तहमा कार्यरत कर्मचारीहरूको मनोबलमा गम्भीर गिरावट आएको छ। स्थानीय सरकार आफैं हिंसात्मक शैलीमा प्रस्तुत हुँदा कर्मचारीहरू त्रसित छन्। विज्ञप्तिमा सुरक्षा व्यवस्था, कानुनी कारबाही र कार्यस्थलको मर्यादा कायम राख्न तत्काल आवश्यक कदम चाल्न सम्बन्धित निकायसँग माग गरिएको छ।

-
Jigyasanepal