जिग्यासा नेपाल | असार २१, २०८२ | काभ्रे
काभ्रेको मण्डनदेउपुर नगरपालिका–६ स्थित जिरोकिलो–मेलम्ची सडक खण्डमा भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटना असार २० गते साँझ ८:१५ बजे भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।
मेलम्चीबाट कुन्ताबेशी तर्फ जाँदै गरेको बा ५४ प २६५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा विपरीत दिशाबाट आइरहेको बा ४ ख ७५४७ नम्बरको टिपरमा ठोक्किएको थियो।
दुर्घटनामा परेर मण्डनदेउपुर–९ का २८ वर्षीय बिनोद रम्तेलको घटनास्थलमै मृत्यु भएको हो।
टिपर चालक फरार, भोलिपल्ट पक्राउ
दुर्घटनापछि टिपर चालक जनक ढकाल फरार भएका थिए। तर प्रहरीले असार २१ गते बिहान उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
हाल टिपर र चालक दुवै प्रहरी नियन्त्रणमा छन् र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
स्थानीय सडक सुरक्षामा चिन्ता
जिरोकिलो–मेलम्ची सडकखण्ड सधैंजसो तीव्र गतिका सवारीसाधन र ढिलासु व्यवस्थापनका कारण जोखिममा रहेको जनगुनासो छ। यसअघि पनि सो क्षेत्रका विभिन्न स्थानमा यस्तै अनियन्त्रित सवारी दुर्घटनाहरूले जनधनको क्षति पुर्याउँदै आएका छन्।
प्रहरीको आग्रह
प्रहरीले तीव्र गति, लापरवाही र अनियन्त्रित सवारी सञ्चालन नगर्न आम नागरिक तथा चालकहरूलाई अनुरोध गरेको छ। सडक सुरक्षा अपनाउनु र नियमको पालना गर्नु सबैको साझा जिम्मेवारी भएको प्रहरीको भनाइ छ।
-
Jigyasanepal