वीरगन्ज, साउन १९ गते।
पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ शंकरसरैयामा एक २४ वर्षीया महिलाको आफ्नै श्रीमानबाट हत्या भएको छ । घरेलु विवादकाबीच रक्सीको मातमा क्रुर बनेका युवकले मुक्का र लाठीले कुटपिट गर्दै पत्नीको ज्यान लिएका छन्।
हत्या अभियोगमा प्रहरीले २५ वर्षीय जितेन्द्र माझीलाई पक्राउ गरेको छ। उनकाे कुटपिटबाट गम्भीर घाइते भएकी पत्नी असपतलीया देवीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका आधारमा पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले बताएअनुसार, शनिबार राति मादक पदार्थ सेवन गरेका जितेन्द्र माझीले घरेलु विवादका क्रममा पत्नीलाई घाँटीमा मुक्का र लाठीले पटक–पटक प्रहार गरेका थिए।
घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेर शव नियन्त्रणमा लिएको र आरोपी माझीलाई पक्राउ गरिएको हो। हाल पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीयवासीका अनुसार जितेन्द्र माझी नियमित रूपमा मदिरा सेवन गर्ने र परिवारमा पटक–पटक विवाद हुने गरेको थियो। यसअघि पनि उनले श्रीमतीमाथि कयौंपटक हातपात गरेको भन्दै गाउँलेबीच गुनासो उठ्दै आएको थियो।
यो घटनाले देशभरि बढ्दै गएको घरेलु हिंसाको भयावह अवस्था उजागर गरेको छ। सामाजिक सञ्जालमा पनि घटनाप्रति जनआक्रोश बढिरहेको छ, जहाँ महिलामाथिको हिंसा रोक्न कडा कानुनी कार्यवाहीको माग उठेको छ।
-
Jigyasanepal