जेष्ठ ७, धुलिखेल | जिज्ञासा नेपाल
वैदेशिक रोजगारीसँग सम्बन्धित जोखिम न्यूनीकरण, सुरक्षित आप्रवासनको प्रवर्द्धन र सामाजिक सशक्तीकरणको अभियानमा अग्रणी भूमिका खेल्दै आएको सिविक फोरम फर सस्टेनेबल डेभलपमेन्ट (Civic Forum) ले आज काभ्रेपलाञ्चोकका क्रियाशील पत्रकारहरूसँग अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ।

धुलिखेलस्थित हेरिटेज होममा बुधबार आयोजना गरिएको कार्यक्रममा जिल्लामा कार्यरत सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम सुरक्षित आप्रवासन (SaMI) अन्तर्गत नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता बमोजिम सञ्चालन भइरहेको हो, जसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा स्थानीय सरकारहरूको नेतृत्वमा विभिन्न गतिविधि सम्पन्न हुँदै आएका छन्। यो अभियानमा स्वीस सरकारको विकास सहयोगका रूपमा Helvetas Nepal ले प्राविधिक साथ दिँदै आएको छ।
कार्यक्रमको सहजीकरण भूमिका सिविक फोरमले निभाउँदै आएको छ, जसअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लामा आप्रवासी स्रोत केन्द्र (Migration Resource Center) मार्फत सूचना प्रवाह, धुलिखेल नगरपालिकाको नेतृत्वमा समुदाय सचेतना, मनोसामाजिक परामर्श, वित्तीय साक्षरता जस्ता विविध कार्यक्रमहरू सञ्चालनमा छन्।
सञ्चार क्षेत्र समाजको ऐना हो भन्ने मान्यता अनुसार, जनचेतना अभिवृद्धिका लागि पत्रकारको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने भएकाले सिविक फोरमले सोही क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मीहरूसँग प्रत्यक्ष संवाद गर्दै कार्यक्रमको उद्देश्य, प्रक्रिया र उपलब्धिका बारेमा स्पष्ट जानकारी प्रदान गरेको थियो।
कार्यक्रममा सिविक फोरमका प्रमुख कार्यकारी अधिकृत वसन्त कुँवरले सञ्चारकर्मीहरूलाई स्वागत गर्दै सुरक्षित आप्रवासनका चुनौतीहरू, सरकारी नीति, मनोवैज्ञानिक असर र स्थानीय तहको समन्वयको आवश्यकता विषयमा आफ्ना विचार प्रस्तुत गरे। यस्तै धुलिखेल नगरपालिका का सामाजिक विकास शाखा का विदुर गौतमले जिल्लाभर यो कार्यक्रमको अवस्था बारे जानकारी दिएका थिए ।
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका पदाधिकारीहरू, अनुभवी पत्रकारहरू तथा युवाहरूको पनि सक्रिय सहभागिता रहेको यो अन्तरक्रिया कार्यक्रमले पत्रकारितामार्फत सुरक्षित आप्रवासनको विषयमा जनमानसमा अझ प्रभावकारी सन्देश पुर्याउने अपेक्षा गरिएको छ।
-
Jigyasanepal