साउन ३०, २०८२, शुक्रबार — काठमाडौं
नेपालमा सक्रिय रहेको मनसुन केही कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको कारण देशभर वर्षाको प्रभाव घट्दै गएको हो।
आज बिहान जारी बुलेटिनअनुसार, दिउँसो सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा बाक्लो बादल रहनुका साथै देशका अन्य भागमा आंशिक बदली रहने सम्भावना छ। सुदूरपश्चिमका पहाड र बाँकी तराईका एक–दुई स्थानमा मध्यम वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ।
राति कोसी प्रदेशलगायतका पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ भने देशका अन्य भूभागमा पातलो बादल मात्र रहने सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान तथा अन्यत्रका थोरै स्थानमा मध्यम वर्षा पर्न सक्ने सम्भावना महाशाखाले जनाएको छ।
मौसमविद्हरूका अनुसार मनसुन कमजोर भए पनि स्थानीय स्तरमा आंशिक वर्षा जारी रहन सक्ने भएकाले सतर्कता आवश्यक छ। विशेषगरी पहाडी तथा तराईका संवेदनशील क्षेत्रमा वर्षाको कारण बाढी–पहिरोको जोखिम रहिरहेकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।
-
Jigyasanepal