काठमाण्डौ ।
२०७८ सालदेखि SEE अझै (पूर्व SLC) परीक्षा सुधारिएको ढाँचामा सञ्चालन हुँदै आएको छ। अब, २०८१ सालको SEE परीक्षा चैत ७ गतेदेखि देशभर सुरु हुँदैछ। यो परीक्षा विद्यार्थीहरूको शैक्षिक यात्रामा महत्त्वपूर्ण मोड हो, जसले उनीहरूको भावी अध्ययन यात्रालाई प्रभाव पार्छ। SEE परीक्षार्थीहरूलाई सफलताको मार्गचित्र दिने उद्देश्यले तयारी गर्ने उपाय, ध्यान दिनुपर्ने कुराहरू र परीक्षा हलमा अपनाउनुपर्ने रणनीतिहरू प्रस्तुत गरिएको छ।
१. लक्ष्य निर्धारण र आत्मविश्वास बढाउने
SEE परीक्षा तपाईंको जीवनको एउटा अध्याय हो, तर अन्तिम गन्तव्य होइन। आफ्नो लक्ष्य निर्धारण गर्दै आत्मविश्वास बढाउनुहोस्। तनाव नलिई परीक्षालाई एउटा अवसरको रूपमा लिनुहोस्। यदि आत्मविश्वास कम छ भने, सकारात्मक सोच राख्नुहोस् र आफूलाई मानसिक रूपमा तयार बनाउनुहोस्।
२. समय व्यवस्थापन : अब हरेक घण्टा महत्त्वपूर्ण
परीक्षा आउन लाग्दा अनावश्यक तनाव बढ्छ। यसको समाधान भनेको राम्रो समय व्यवस्थापन हो। पढ्नुपर्ने विषयवस्तु छुट्याएर टाइम टेबल बनाउनुहोस्। कठिन विषयलाई प्राथमिकता दिनुहोस् तर सजिला विषयलाई पनि बेवास्ता नगर्नुहोस्। पढाइको बीचमा सानो आराम लिनुहोस् ताकि दिमाग ताजा रहोस्।
३. नोट्स बनाउनुहोस् र रिभिजनलाई प्राथमिकता दिनुहोस्
पढ्दा महत्वपूर्ण बुँदाहरू नोट गर्नाले तपाईंको अध्ययन प्रभावकारी हुन्छ। परीक्षाको केही दिनअघि मात्र नयाँ कुरा सिक्नुभन्दा पढेको दोहोर्याएर रिभिजन गर्नु उत्तम हुन्छ। रातभरि पढ्नुभन्दा, ४५ मिनेट पढेपछि ५-१० मिनेट ब्रेक लिनु बुद्धिमानी हुन्छ।
४. लिखित अभ्यास : सम्झने सबैभन्दा राम्रो उपाय
केवल किताब पढेर परीक्षा दिनु भन्दा, लेखेर अभ्यास गर्नु अझ प्रभावकारी हुन्छ। गणित, विज्ञान, समाजशास्त्र जस्ता विषयहरूमा प्रश्नहरू हल गर्ने बानी बसाल्नुहोस्। यसले तपाईंको लेखन गति बढाउँछ र उत्तर लेख्ने तरिका सुधार गर्छ।
५. स्मार्ट अध्ययन : महत्वपूर्ण बिषय पहिचान गर्नुहोस्
SEE परीक्षा तयारी गर्दा सम्पूर्ण पाठ्यक्रम पढ्न आवश्यक पर्छ, तर अघिल्ला वर्षका प्रश्नपत्रहरू हेरेर महत्त्वपूर्ण खण्डहरू चिन्हित गर्नुहोस्। विगतका प्रश्नपत्रहरू हल गरेर परीक्षाको ढाँचा बुझ्न सकिन्छ।
६. अभ्यास परीक्षामा सहभागी हुनुहोस्
तपाईंको तयारी कति प्रभावकारी छ भन्ने थाहा पाउनका लागि अभ्यास परीक्षा दिनुहोस्। धेरै स्कुलहरूले ‘SEE MOCK TEST’ सञ्चालन गर्छन्, यसमा सहभागी हुनाले वास्तविक परीक्षाको अनुभूति हुन्छ। समयसहित प्रश्न हल गर्ने बानी बसाल्नुहोस्।
७. खानपान र स्वास्थ्यमा ध्यान दिनुहोस्
स्वस्थ शरीर र ताजा दिमागले मात्र राम्रो प्रदर्शन गर्न सकिन्छ। जंक फुड कम खानुहोस् र पौष्टिक खाना खानुहोस्। परीक्षा अघि रातभर जाग्राम बस्ने बानीले शरीर र दिमागलाई कमजोर बनाउँछ। प्रयाप्त आराम गर्नुहोस्।
८. परीक्षा हलमा अपनाउनुपर्ने रणनीति
प्रश्नपत्र पूरा पढेर समय व्यवस्थापन गर्नुहोस्।
पहिला सजिला प्रश्नहरू हल गर्नुहोस्।
लेखाइ स्पष्ट र बुझ्न योग्य बनाउनुहोस्।
उत्तरपुस्तिका सफा राख्नुहोस्।
कुनै पनि प्रश्न नबुझेमा शिक्षक वा निरीक्षकसँग सोध्नुहोस्।
९. तनाव हटाउने उपाय
परीक्षाका कारण तनाव हुनु स्वाभाविक हो, तर धेरै तनावले पढाइ नै प्रभावित पार्न सक्छ। तनाव व्यवस्थापन गर्न निम्न उपाय अपनाउनुहोस्:
सकारात्मक सोच राख्नुहोस्।
सानो समय ध्यान वा प्राणायाम गर्नुहोस्।
आफन्त वा साथीभाइसँग कुरा गर्नुहोस्।
सामाजिक सञ्जालको लतबाट बच्नुहोस्।
१०. ‘गर्नुपर्ने’ र ‘गर्न नहुने’ कुराहरू
✅ गर्नुपर्ने:
तालिका अनुसार नियमित अध्ययन गर्नुहोस्।
विगतका प्रश्नपत्र हल गर्नुहोस्।
स्वस्थ खानपान अपनाउनुहोस्।
लेखेर अभ्यास गर्नुहोस्।
आत्मविश्वास राख्नुहोस्।
❌ गर्न नहुने:
अन्तिम समयमा नयाँ विषयवस्तु सुरु नगर्नुहोस्।
मोबाइल वा इन्टरनेटमा अनावश्यक समय खर्च नगर्नुहोस्।
साथीहरूको गलत सल्लाहमा परीक्षाको तयारी नगर्नुहोस्।
निद्रा कटौती गरेर रातभरि पढ्न नबस्नुहोस्।
तपाईंको मेहनत सफलताको आधार
SEE परीक्षा कुनै भयावह कुरा होइन, बरु यो अवसर हो। तपाईंको मेहनत, सकारात्मक सोच र सही रणनीतिले राम्रो नतिजा दिलाउनेछ। आफ्नो लक्ष्यलाई स्पष्ट राखी नियमित अध्ययन गर्नुहोस्। परीक्षा दिनु मात्र महत्वपूर्ण होइन, ज्ञान आर्जन गर्नु नै दीर्घकालीन सफलताको मार्ग हो। आत्मविश्वास राख्नुहोस्, आफ्नो मेहनतको विश्वास गर्नुहोस्, अनि सफलता तपाईंको हातमा हुनेछ!
SEE परीक्षार्थीहरूलाई सफलताको शुभकामना!
- Jigyasa media