काठमाडौं, जेठ ४ –
नेपालभरि आजको दिन आकाश पनि रिसाएको छ, र मौसमले धेरै ठाउँमा सताउने संकेत दिएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज आइतबार देशभरको मौसममा व्यापक परिवर्तनको सम्भावना देखिएको छ।
पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको त्रिकोणीय प्रभावका कारण अधिकांश ठाउँमा वर्षा, हावाहुरी र चट्याङसहितको अस्थिर मौसम रहने अनुमान गरिएको छ।
के–कसलाई सताउला आजको मौसमले?
आज दिउँसो
- कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रहनेछ।
- ती प्रदेशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
- उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको खतरा पनि रहेको छ।
- मधेस, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा हावाहुरी/हावाहुन्डरी चल्ने पूर्वानुमान छ।
आज राति
- कोशीदेखि लुम्बिनीसम्मका पहाडी क्षेत्रमा फेरि आंशिकदेखि सामान्य बदली हुनेछ।
- तराईका केही भूभागमा चट्याङसहित वर्षा दोहोरिन सक्छ।
- हिमाली क्षेत्रमा रातिको समयमा पनि हल्का वर्षा वा हिमपात सम्भावित छ।
कतिले वर्षा भन्ने बुझ्ने?
मौसमविद्हरूको भनाइ अनुसार:
- १० मिमि भन्दा कम वर्षा = हल्का वर्षा
- १०–५० मिमि = मध्यम
- ५०–१०० मिमि = भारी
- १००–२०० मिमि = धेरै भारी
- २०० मिमि भन्दा माथि = अति भारी वर्षा
‘थोरै’, ‘केही’, ‘एक–दुई’ स्थान भनेर के बुझ्ने?
- थोरै स्थान = सम्बन्धित क्षेत्रको २५–३०%
- केही स्थान = ५०%
- एक–दुई स्थान = २५% भन्दा कम भूभाग
तसर्थ, सतर्क रहनुहोस्!
आजको दिन यात्रामा निस्कनु छ भने मौसम हेरेर मात्रै अगाडि बढ्नु होला। बर्खाको सुरुवातमै प्रकृतिले दिएको यस्तो संकेतलाई हल्का नलिइयोस्।
-
Jigyasanepal