काठमाडौं, वैशाख ४ – काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शन हिंसात्मक मोडमा गएपछि त्यसको नेतृत्व र योजनाबद्धता कोबाट भएको भन्ने विषयमा रहस्य पर्दाफास हुँदै गएको छ। सार्वजनिक रूपमा भाइरल भएको एउटा भिडियोका आधारमा प्रहरीले गरेको अनुसन्धानले स्पष्ट पारेको छ– आगजनीमा संलग्न युवाहरु ‘एनी टाइम फोर्स (एटीएफ)’ नामक संगठनसँग आबद्ध थिए।
प्रदर्शनको नाममा निजी घरमा आगो लगाउने मुख्य व्यक्तिहरू सरोज गौतम र गोकर्ण शाही थिए, जो क्रमशः रामेछाप र अछामका हुन्। दुवैजना एटीएफका सक्रिय सदस्य हुन् भने गौतम समूहका प्रवक्ता रहेको खुलासा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गरेका छन्।
प्रहरीका अनुसार आगो लगाउँदै गरिएको भिडियो उनीहरुकै समूहका सदस्यले खिचेका थिए। अहिले भिडियो खिच्ने व्यक्ति समेत प्रहरी नियन्त्रणमा छन्।
यही आगजनीका कारण पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए। प्रदर्शनको नेतृत्व गरेका विवादित व्यवसायी दुर्गा प्रसाईंको उपस्थितिमा नै उक्त घटना भएको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
स्रोतका अनुसार आगजनी हुनु अघि गौतम र शाही, प्रसाईंले निषेधित क्षेत्र तोड्दै अगाडि बढाउँदा प्रयोग गरेको गाडीमा समेत सवार थिए। प्रहरीले प्रसाईंसहितका व्यक्तिहरूलाई नियन्त्रणमा लिएपछि उनीहरूले निजी घरमा आगो लगाएका थिए।
‘राजावादी’ सन्तोष राजावादीको कमान्डमा चलेको अराजकता
यस घटनासँगै ‘एटीएफ’ फोर्सका कमान्डर सन्तोष कुमार सिलवाल उर्फ सन्तोष राजावादीको नाम समेत पुनः विवादमा तानिएको छ। उनी यसअघि पनि २०८० जेठमा नेकपा (एस) नेता झलनाथ खनालको कार्यक्रममा अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका थिए।
तीनकुने घटनामा मात्रै नभई पूर्वका विभिन्न जिल्लामा भएको यस्तै प्रदर्शनमा पनि उनको टोलीको संलग्नता देखिएको छ। पशुपति खड्काको हिन्दू युवा संघ, रोयल टास्क फोर्स, र दुर्गा प्रसाईंको पीपुल्स डिफेन्स फोर्स (PDF) समेत यस अराजक अभियानमा सक्रिय थिए।
हाल पशुपति खड्का पक्राउ परिसकेका छन् भने सन्तोष राजावादी भने फरार छन्। प्रहरीले उनीहरूमाथि संगठित अपराध र राज्यविरुद्धको षड्यन्त्रमा अनुसन्धान गरिरहेको जनाएको छ।
कानुनी प्रक्रिया तीव्र, दुर्गा प्रसाईंमाथि ज्यान मुद्दा चल्ने तयारी
राजावादी प्रदर्शनलाई हिंसात्मक बनाउने योजनामा अग्रपंक्तिमा रहेका दुर्गा प्रसाईंलाई प्रहरीले झापाबाट शुक्रबार बिहान पक्राउ गरेको छ। उनीमाथि ज्यान मुद्दासहित सामाजिक उपद्र र आगजनीजस्ता गम्भीर अभियोगहरू लगाउने तयारीमा गृह मन्त्रालय रहेको छ।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, सांसद धवलशमशेर राणासहित ८२ जनाविरुद्ध अराजक प्रदर्शनमा संलग्न रहेको अभियोगमा मुद्दा दायर गरिएको छ। अझै सन्तोष राजावादीसहित दर्जनौँ प्रदर्शनकारी फरार रहेका छन् र प्रहरीको खोजी तीव्र छ। शान्तिपूर्ण प्रदर्शनको नाममा योजनाबद्ध ढंगले सार्वजनिक सुरक्षालाई चुनौती दिने र निर्दोष नागरिकको ज्यान जाने घटनाले देशमा बढ्दो राजनीतिक उग्रताको खतरनाक संकेत दिएको छ। अब यो घटनाले के सन्देश दिने हो– कानुन र न्यायले दिने निर्णयले मात्र बताउनेछ।
- Jigyasa media