जिज्ञासा नेपाल
साउन १३, २०८२, मंगलबार | काठमाडौं
देशका विभिन्न भागमा लगातार भइरहेको वर्षासँगै आज (मंगलबार) पनि पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ।
महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यतया आकाशमा बादल लाग्नेछ भने कोसी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना देखिएको छ।
विशेषगरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडका केही स्थानहरूमा दिउँसो भारी वर्षा हुन सक्ने अनुमान गरिएको हो। यसले पहिरो, बाढी र डुबानको जोखिम बढाउन सक्ने भएकाले उच्च सावधानी अपनाउन विभागले आग्रह गरेको छ।
रातिपनि वर्षा निरन्तर
आज राति पनि लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागहरूमा सामान्य बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। लुम्बिनी प्रदेशसहितका पहाडका केही स्थान र तराईका एक-दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो हुन्छ वर्षा मापनको मापदण्ड
मौसमविद्हरूका अनुसार,
१० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा मानिन्छ।
१० देखि ५० मिलिमिटरसम्मको वर्षा मध्यम मानिन्छ।
५० मिलिमिटरभन्दा बढी पानी परे भारी वर्षा,
१०० मिलिमिटरभन्दा माथि धेरै भारी वर्षा र
२०० मिलिमिटरभन्दा माथिको वर्षालाई अति भारी वर्षा मानिन्छ।
कुन शब्दको के अर्थ ?
"एक–दुई स्थानमा वर्षा" भन्नाले सम्बन्धित क्षेत्रका १०% भन्दा कम भूभागमा पानी पर्ने सम्भावना देखिन्छ।
"थोरै स्थान" भन्नाले १०%–३०% भूभागमा पानी पर्न सक्ने संकेत दिन्छ।
"केही स्थान" भनिएको छ भने ३०%–५०% भूभागमा वर्षाको सम्भावना हुन्छ।
"धेरै स्थान" भन्ने शब्द प्रयोग गरिएको छ भने त्यो क्षेत्रको ५०%–८०% भूभागमा पानी पर्न सक्छ।
"अधिकांश स्थान" भनिएको छ भने ८०% भन्दा बढी भागमा पानी पर्ने पूर्वानुमान लिइन्छ।
सुरक्षा सावधानी अपनाउन आग्रह
वर्षासँगै पहाडी भेगमा पहिरो र सडक अबरुद्ध हुने जोखिम उच्च रहन्छ। नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनु, अनावश्यक यात्रा नगर्नु तथा बाढी सम्भावित क्षेत्रका नागरिकलाई सचेत रहन मौसम विभागले आग्रह गरेको छ।
यात्रा गर्दा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न, नदी किनारबाट टाढा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
अन्त्यमा
वर्षा याममा जलवायुजन्य जोखिम बढ्ने हुँदा दैनिक मौसम बुलेटिनहरूमा ध्यान दिनु, सूचना प्राप्त गर्न टेलिभिजन, रेडियो, सामाजिक सञ्जाल तथा सरकारी निकायका वेबसाइटहरूबाट अपडेट रहनु अहिलेको आवश्यकता हो।
-
Jigyasanepal