असार २२, २०८२, आइतबार | नवलपरासी पश्चिम
नवलपरासी पश्चिमको झरही खोलामा शनिबार साँझ एक हृदयविदारक सडक दुर्घटनामा दुई युवकले ज्यान गुमाएका छन्। सडकको मोडमा लापरवाहीपूर्वक ओभरटेक गर्ने क्रममा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १८ र २१ वर्षका दुई युवाको ज्यान गएको हो।
मृत्यु हुनेमा प्रतापपुर गाउँपालिका–४ पाचपेडाका २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका–१५ डिगौलका १८ वर्षीय राहुल राजभर रहेका छन्। उनीहरू लु ४७ प ४८७९ नम्बरको मोटरसाइकलमा सवार थिए। शनिबार साँझ पाल्हीनन्दन गाउँपालिका–१ स्थित झरही खोलाको मोडमा मोटरसाइकललाई लु २ ख ६५४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।
दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका दुवै युवकलाई तत्काल पृथ्वीचन्द्र अस्पताल, परासी लगिएको थियो। तर, उपचारकै क्रममा उनीहरूको ज्यान गएको अस्पताल स्रोतले पुष्टि गरेको छ।
दुर्घटनामा संलग्न बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार बसको तेज गतिले र मोडमा सावधानी नअपनाएको कारण दुर्घटना भएको अनुमान गरिएको छ।
स्थानीय बासिन्दाहरूले दुर्घटनास्थलमा पुगेर क्षोभ व्यक्त गरेका छन्। उनीहरूले मोड, भिरालो सडक र अत्यधिक गति नियन्त्रण गर्न ट्राफिक सुरक्षाका लागि तत्काल कदम चाल्न माग गरेका छन्।
दुर्घटनाले दुई युवाको जीवन अकालमै समाप्त भएको पीडामा डुबाएको छ। स्थानियस्तरमा ट्राफिक नियम पालना गराउने, गति सीमित गर्ने र सवारीसाधनलाई समय–समयमा निरीक्षण गर्ने व्यवस्था नभएसम्म यस्ता दुर्घटनाको जोखिम कायमै रहने संकेत देखिएको छ।
शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना।
-
Jigyasanepal