काठमाडौँ — देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार धेरै ठाउँमा मध्यम वर्षा हुनसक्ने भए पनि वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ।
त्यस्तै, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि वर्षाको सम्भावना
रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा राति मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
सरदर आसपास मनसुनको न्यूनचापीय रेखा
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानको आसपासमा रहेको छ।
भारी वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रमा पहिरो, भू–क्षय तथा स्थानीय खोलानालामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
-
Jigyasanepal