काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह तीन दिनदेखि जारी निजी तथा पारिवारिक भ्रमण सकेर आज काठमाडौँ फर्किने भएका छन्।
प्रधानमन्त्री शाह शुक्रबार काठमाडौँबाट सडकमार्ग हुँदै पोखरा पुगेका थिए। शनिबार उनी पोखराबाट मुस्ताङ पुगेका थिए। मुस्ताङमा धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणपछि आइतबार पोखरा फर्किएर एक रिसोर्टमा बसेका हुन्।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार प्रधानमन्त्रीको भ्रमण पूर्णतः निजी तथा पारिवारिक रहेकाले जिल्ला प्रशासनलाई समेत भ्रमणका अन्य विवरणबारे धेरै जानकारी नभएको बताएका छन्। उनका अनुसार प्रधानमन्त्री शाह सोमबार काठमाडौँ फर्किने कार्यक्रम छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले शनिबार मुक्तिनाथ मन्दिरमा दर्शन गरेका थिए। निजी भ्रमण भएकाले उनको सहभागितामा कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ।
शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बसेका प्रधानमन्त्री शाह आइतबार मुस्ताङबाट फर्किएपछि पोखराकै अर्को रिसोर्टमा बसेका छन्।
प्रधानमन्त्री बनेपछि शाह पहिलोपटक परिवारका सदस्यसहित निजी भ्रमणमा निस्किएका हुन्। सडकमार्ग हुँदै पोखरा–मुस्ताङ यात्रा गरेका उनले भ्रमणका क्रममा धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकनसमेत गरेका छन्।
-
Jigyasanepal