Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

हुम्लामा भीषण बाढी–पहिरो : विद्यालय बग्यो, खेतीयोग्य जमिन तहसनहस

  •   ५ महिना अघि | ६ जेष्ठ २०८३, बुधबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको असिना–पानीसहितको बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको छ। भीषण वर्षापछि आएको बाढीले गाउँको डाँफे आधारभूत विद्यालय बगाउनुका साथै खेतीयोग्य जमिन र गोठसमेत तहसनहस बनाएको स्थानीयले बताएका छन्।

स्थानीय छक्कबहादुर तामाङका अनुसार रातिको समयमा आएको एक्कासी बाढीले गाउँभर त्रास फैलिएको थियो। प्रारम्भिक विवरणअनुसार कोदो खेती गरिने धेरै जमिन बाढीले बगाएको छ भने गाउँका गोठहरू पनि पहिरोले पुरिएका छन्।

वडाध्यक्ष हर्कधन तामाङ र स्थानीय धनसिंह तामाङका गोठ पहिरोले पुरिएको बताइएको छ। गोठमा रहेका भेँडाबाख्रामा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। यद्यपि क्षतिको पूर्ण विवरण अझै आउन नसकेको वडाध्यक्ष तामाङले बताएका छन्।

‘रातिको समयमा घटना भएकाले वास्तविक क्षतिको एकिन गर्न गाह्रो भइरहेको छ,’ वडाध्यक्ष तामाङले भने, ‘हालसम्म मानवीय क्षतिको सूचना आएको छैन, तर गोठ पुरिँदा पशुचौपायामा क्षति पुगेको खबर आएको छ।’

उनका अनुसार बाढीले गाउँको खेतीयोग्य जमिन नै तहसनहस बनाएको छ। ‘जग्गा केही बाँकी नरहने गरी क्षति पुगेको भन्ने खबर आएको छ,’ उनले बताए।

घटनापछि मेल्छाम प्रहरीचौकीबाट प्रहरी टोली आज बिहान घटनास्थलतर्फ प्रस्थान गरेको छ। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले क्षतिको विस्तृत विवरण आउन समय लागिरहेको बताए।

‘स्थानीय र प्रहरीमार्फत् जानकारी संकलन भइरहेको छ,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘पूर्ण विवरण आउन बाँकी छ।’

चंखेली गाउँपालिका हुम्ला सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्छ। तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेको उक्त क्षेत्रमा अझै सडक सुविधा पुगेको छैन। गाउँपालिकाको केन्द्रसम्म पुग्नसमेत जोखिमपूर्ण बाटो हुँदै करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।

  • Jigyasanepal

थप