नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा पूर्व–पश्चिम राजमार्गबाट बस अनियन्त्रित भई नालामा पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाएपछि दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा चालकसहित १८ जना यात्रु सवार थिए।
दुर्घटनामा मृत्यु भएका व्यक्तिमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको मात्र पहिचान खुलेको प्रहरीले जनाएको छ। बाँकी पाँच मृतकको परिचय खुल्न बाँकी छ।
घाइते १० जनालाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनाको थप विवरण तथा मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
-
Jigyasanepal