काठमाडौं। दशकौँअघि नेपालबाट चोरी भई अमेरिका पुगेका सांस्कृतिक तथा पुरातात्त्विक महत्वका दुई ऐतिहासिक मूर्ति अन्ततः स्वदेश फर्किएका छन्। १६औँ शताब्दीको काठको नृत्यदेवी र १३औँ शताब्दीको तामाबाट निर्मित सुनौलो पद्मपाणि लोकेश्वर मूर्ति सोमबार औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको हो।
पुरातत्व विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मूर्तिहरू सार्वजनिक गर्दै तिनलाई राष्ट्रिय संग्रहालयमा संरक्षणका लागि हस्तान्तरण गरेको जनाएको छ। चोरी हुनुअघि यी मूर्तिहरू रहेका स्थानीय समुदायका प्रतिनिधिहरू पनि कार्यक्रममा उपस्थित थिए।
दशकौँअघि हराएका सम्पदा
विभागका अनुसार नृत्यदेवीको मूर्ति ललितपुरको इबहाबहीबाट वि.सं. २०४५/०४६ तिर चोरी भएको थियो। यो मूर्ति अमेरिकाको न्युयोर्कस्थित महानगरीय कला संग्रहालय (Metropolitan Museum of Art) मा रहेको थियो।
त्यसैगरी पद्मपाणि लोकेश्वरको मूर्ति काठमाडौंको ठमेलस्थित विक्रमशिला महाविहार (ठबही) बाट सन् १९८० को दशकमा हराएको थियो। यो मूर्ति अमेरिकाको क्यालिफोर्नियास्थित बर्कली कला संग्रहालयमा रहेको थियो।
अनुसन्धानपछि गैरकानुनी रूपमा लगिएको पुष्टि
दुवै मूर्ति अमेरिकाको न्युयोर्क जिल्ला अधिवक्ताको कार्यालयको कला सम्पदा बेचबिखन अनुसन्धान शाखामा राखिएको थियो। अनुसन्धानका क्रममा ती सम्पदा नेपालबाट गैरकानुनी रूपमा लगिएको पुष्टि भएपछि अन्तर्राष्ट्रिय कानुनी प्रक्रियाअनुसार नेपाल फिर्ता गरिएको हो।
नेपाल सरकारको तर्फबाट आवश्यक प्रमाण उपलब्ध गराइएपछि असार ९ गते न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत प्रेमबहादुर बुढथापालाई ती सम्पदा हस्तान्तरण गरिएको थियो।
सरकारदेखि समुदायसम्मको संयुक्त प्रयास
सम्पदा फिर्ता ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, अमेरिकास्थित नेपाली कूटनीतिक नियोग, न्युयोर्क जिल्ला अधिवक्ताको कार्यालय, सम्बन्धित संग्रहालय तथा न्युयोर्कस्थित नेवाः गुठीले महत्वपूर्ण भूमिका खेलेका थिए।
नेवाः गुठीका अध्यक्ष राजेन्द्र महर्जनका अनुसार अमेरिकामा रहेका नेपाली समुदायको आर्थिक सहयोगबाट सम्पदा नेपाल ल्याउन सम्भव भएको हो। सहयोगको कदर गर्दै पुरातत्व विभागले गुठीलाई प्रशंसापत्रसहित सम्मान गरेको छ।
तीन महिनापछि मूल स्थानमै पुनःस्थापना
पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले फिर्ता भएका मूर्तिहरू तीन महिनासम्म राष्ट्रिय संग्रहालयमा राखिने र आवश्यक सुरक्षा संरचना तयार भएपछि चोरी हुनुअघि रहेकै स्थानमा पुनःस्थापना गरिने जानकारी दिए।
उनले नेपाल–अमेरिकाबीच भएको सांस्कृतिक सम्पदा संरक्षण तथा आदानप्रदान सम्झौताका कारण अमेरिका पुगेका अन्य नेपाली सम्पदासमेत फिर्ता ल्याउने प्रक्रिया थप सहज भएको बताए।
सरोकारवालाको प्रतिबद्धता
संस्कृति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले विदेश पुगेका अन्य नेपाली सम्पदासमेत स्वदेश फर्काउन मन्त्रालय सक्रिय रहेको बताए।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मूर्तिलाई मूल स्थानमै पुनःस्थापना गरी नियमित पूजा–आराधनाको व्यवस्था गर्नुपर्ने धारणा राख्दै स्थानीय सरकारका तर्फबाट आवश्यक सुरक्षा र सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले मूर्ति हराउँदा केवल एउटा कलाकृति मात्र होइन, सम्पूर्ण इतिहास र सांस्कृतिक स्मृति हराउने भएकाले सम्पदालाई मूल स्थानमै पुनःस्थापना गर्नु आवश्यक रहेको बताइन्।
नेपालस्थित अमेरिकी दूतावासका प्रतिनिधि माइक हर्करले अमेरिकामा रहेका अन्य नेपाली सम्पदासमेत नेपालकै भएको प्रमाणित भए कानुनी प्रक्रिया पूरा गरी फिर्ता गर्न अमेरिकी सरकार निरन्तर सहयोगी रहने प्रतिबद्धता व्यक्त गरे।
यसअघि पनि फर्किएका थिए महत्वपूर्ण सम्पदा
अमेरिकाको सहयोगमा यसअघि चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वर, नागराज, पद्मपाणि लोकेश्वर (बोधिसत्व अवलोकितेश्वर) तथा शाक्यमुनि बुद्धका बहुमूल्य मूर्तिहरू पनि नेपाल फिर्ता भइसकेका छन्।
पुरातत्वविद्हरूका अनुसार चोरी भएका सम्पदा स्वदेश फर्कनु केवल पुरातात्त्विक वस्तु पुनःप्राप्ति मात्र होइन, नेपालको इतिहास, संस्कृति, आस्था र सभ्यताको संरक्षणतर्फको महत्वपूर्ण उपलब्धि हो।
-
Jigyasanepal