काठमाडौं, असोज २९। बडादसैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज देशभरका दसैँघर तथा पूजाकोठामा नवदुर्गामध्ये पाँचौँ स्वरूप स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। दुर्गा भवानीका नौ स्वरूपको उपासनामा समर्पित नवरात्रको यस दिन भक्तजनले श्रद्धा र भक्तिपूर्वक स्कन्दमाताको पूजा गरी सुख, शान्ति, शक्ति तथा समृद्धिको कामना गर्ने परम्परा छ।
पौराणिक मान्यताअनुसार भगवान् स्कन्द अर्थात् कुमार कार्तिकेयकी माता भएकाले पार्वतीलाई स्कन्दमाता भनिएको हो। स्कन्दमाताको स्वरूपमा देवी सिंहमा विराजमान भएको र हातमा कमलका फूल धारण गरेको वर्णन पाइन्छ। देवीको यस स्वरूपलाई मातृत्व, करुणा र शक्तिको प्रतीकका रूपमा लिने गरिन्छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी जमरा राखेसँगै सुरु भएको दुर्गा पूजामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र कुष्माण्डाको आराधना गरिसकिएको छ। आज पाँचौँ दिन स्कन्दमाताको पूजा गरिँदै छ भने छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक परम्परा छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। वैदिक सनातन धर्मावलम्बीले देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका साथ नवरात्र मनाउँदै आएका छन्।
दुर्गा पक्षका अवसरमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको चहलपहल बढ्ने गरेको छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म चल्ने नवरात्रपछि विजयादशमीमा मान्यजनबाट टीका र जमरा ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म बडादसैँ मनाउने परम्परा छ।
आस्था, पारिवारिक मिलन र सांस्कृतिक परम्पराको संगमका रूपमा रहेको बडादसैँले नेपाली समाजमा धार्मिक सहिष्णुता, सद्भाव र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।
-
Jigyasanepal