काठमाडौं, असोज २५। बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने मोटरेबल पक्की पुल बगाएको छ। आइतबार बिहान आएको बाढीले पुल बगाएपछि दुई जिल्लाबीचको आवागमनमा समस्या उत्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठका अनुसार बूढीगण्डकीमा आएको बाढीले आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको हो।
बाढीले अन्य पुलहरूमा समेत क्षति पुर्याएको छ। चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेत–सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ स्थित माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।
एकैपटक विभिन्न पुल बगाउँदा स्थानीय बासिन्दाको आवागमन तथा यातायात सेवामा असर पर्ने देखिएको छ। बाढीबाट भएको अन्य क्षति तथा प्रभावित क्षेत्रको थप विवरण भने प्राप्त हुन बाँकी छ।
-
Jigyasanepal