कात्तिक २५, २०८२ मंगलबार भेरीगङ्गा (सुर्खेत) ।
सुर्खेतमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ। प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार नयाँ मतदाता नामावली दर्ता खुला भएको सुरुका दिनमा दर्ता गराउनेको सङ्ख्या न्यून थियो।
तर पछिल्ला केही दिनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढेको छ। दैनिक २५० जनाको हारहारीमा नयाँ मतदाता नामावली बनाउन आउने गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख नन्दाराम चौलागाईंले जानकारी दिए।
मतदाता नामावली दर्ता गराउनेको चाप बढेपछि अहिले बिहान ८ बजेदेखि नै कार्यालय खोलेर काम गरिएको चौलागाईंको भनाइ छ। ‘आयोगले मतदाता नामावली दर्ता गर्ने कार्य सुरु गरेको सुरुका दिनमा ५/७ जना मात्रै दर्ता गर्न आउनुहुन्थ्यो’, उनले भने, ‘अहिले नेपाल टेलिकमको व्याकट्युन राख्न थालिएपछि मतदाता नामावलीमा नाम दर्ता गराउनेको चाप बढेको छ, अहिले दैनिक २५० जनासम्म नयाँ मतदाता थपिएका छन्। चाप बढेपछि हामीले कार्यालय बिहान ८ बजेदेखि खोलेर काम गरिरहेका छौँ।’
उनकाअनुसार आजसम्म सुर्खेत जिल्लामा मात्रै एक हजार ७०० नयाँ मतदाता थपिएका छन्। कात्तिक ३० गतेसम्म दर्ता गर्ने समय भएकाले यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ।
गत चैतसम्मको अध्यावधिक विवरणअनुसार सुर्खेतमा पुरुष मतदाता १ लाख १९ हजार ३८९ छन् भने महिला मतदाता एक लाख २५ हजार २८५ जना गरी जम्मा २ लाख ४४ हजार ६७४ जना रहेका छन्।
कर्णालीभर ९ लाख ८ हजार ४३३ जना मतदाता रहेका छन्। अब नयाँ मतदाता थपिएसँगै करिब १० लाख मतदाता पुग्ने आंकलन गरिएको छ।रासस
-
Jigyasanepal