Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

जनमत वाड्मय प्रतिष्ठानको ४१औं वार्षिकोत्सव

सिर्जनात्मकता सम्मान र साहित्यिक यात्राको अनुपम उत्सव

  •   २ वर्ष अघि | २३ चैत्र २०८१, शनिबार

काभ्रे । बनेपा, चैत २३ । चार दशकभन्दा बढी समयदेखि साहित्यिक चेतना र सामाजिक रूपान्तरणका पक्षमा अडिग रहँदै आएको जनमत वाड्मय प्रतिष्ठान नेपालले शनिबार ४१औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। काभ्रेको बनेपा स्थित अरनिको पार्टी प्यालेसमा आयोजित उक्त समारोह सिर्जनशीलता, सम्मान र समर्पणको ऐतिहासिक दस्तावेज बनेको छ ।


कार्यक्रमको सञ्चालन वरिष्ठ साहित्यकर्मी रामसुन्दर देउजाले गरेका थिए। प्रतिष्ठानका अध्यक्ष मोहन दुवालको सभापतित्वमा सम्पन्न सो समारोहका प्रमुख अतिथि थिए— लेखक तथा संस्कृतिकर्मी हरिराम जोशी, विशिष्ट अतिथिको रूपमा प्रा.डा. सुषमा आचार्य, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. दामोदर पुडासैनी 'किशोर', र पुष्कर अथक रेग्मी लगायतका साहित्यिक हस्तीहरुको उपस्थिति रहेको थियो।


शनिबार बनेपामा आयोजित कार्यक्रममा विभिन्न विधामा योगदान दिने २०८० र २०७९ सालका सम्मानित स्रष्टाहरूलाई मञ्चमा दोसल्ला, सम्मानपत्र, जनमत पदक, नगद र मायाको चिनोका साथ सम्मानित गरिएको थियो । दीपा-जनमत सम्मान, हृदयचन्द्र-वरिष्ठ जनमत साधक सम्मान, जनमत-जनक प्रधान सेवा सम्मान, जनमत-महेन्द्रलाल कलाकार सम्मान, जनमत-ज्ञानरत्न/मंगलतारा राष्ट्रिय सम्मान लगायत विभिन्न उपाधिमा प्रदान गरिएका सम्मानहरूले स्रष्टाहरूको योगदानलाई उजिल्याए।

कदरपत्रसहित गोविन्दलाल प्रधानाङ, पत्रकार प्रल्हाद शर्मा हुमागाई, त्रिरत्न रञ्जितकार जस्ता व्यक्तित्वहरूलाई पनि शिक्षण, पत्रकारिता र समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै विशेष सम्मान गरिएको थियो।

उद्घाटन समारोहमा प्रमुख अतिथि हरिराम जोशीले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गर्नुका साथै साहित्यकार हृदयचन्द्र सिं प्रधानको फोटोमा माल्यार्पण गर्दै दिवंगत साहित्यकारहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो।

साहित्यिक प्रस्तुतिहरू कार्यक्रममा विशेष आकर्षण बनेको थियो । अतिथि कविहरु अर्जुन पराजुली, अनिल श्रेष्ठ, शारदाप्रसाद पहाडी, कपिल अज्ञात, सूर्यप्रसाद लाकोजू, दियेशरत्न शाक्य लगायतले कविता वाचन गरी साहित्यिक वातावरणलाई सशक्त बनाए। गायन प्रस्तुति लाक्पा शेर्पाले दिएका थिए।

२०८० सालमा प्रकाशित प्रतिष्ठानका महत्वपूर्ण कृतिहरू – ‘शब्दनिम्बमा पौरखीहरू (भाग १ र २)’, ‘सम्झनामा सम्भावनाहरू’, ‘मोहन दुवाल र जनमत संक्षेपमा’, ‘जनमत जानकारी’ पनि सार्वजनिक गरिएको थियो।

अन्त्यमा प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले सम्पूर्ण अतिथि, सम्मानित स्रष्टा, आयोजक, दाताहरूप्रति आभार प्रकट गर्दै साहित्यिक अभियानको भविष्यलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाए। कार्यक्रममा उनको यो उमेर सम्म पनि सक्रियता प्रति उपस्थितहरु ले प्रशंसा समेत गरेका थिए ।



  • Jigyasa media

थप