काभ्रे। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन समिति र रोशी गाउँपालिका विपद् व्यवस्थापन समितिबीच एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। रोशी गाउँपालिकाका अध्यक्ष तथा गाउँ विपद् व्यवस्थापन समितिका संयोजक दिनेश लामाको अध्यक्षतामा सोमबार आयोजित उक्त कार्यक्रममा मनसुनजन्य जोखिम, विपद् प्रतिकार्य तयारी र समन्वयका रणनीति विषयमा बहस गरिएको हो।
कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेशकुमार ढकाल, रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाइबा, सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाह, शसस्त्र प्रहरी उपरिक्षक प्रेम प्रसाई (गणपति, शसस्त्र प्रहरी बल, १५ नं गण काभ्रे), राष्ट्रिय अनुसन्धान प्रमुख अनुसन्धान निर्देशक दीपक खड्का, श्रीमेहर गण, धुलिखेलका सेनानी ईश्वरबहादुर बस्नेत, प्रशासकीय अधिकृत अरुण राई लगायतको टोलीको सहभागिता रहेको थियो।
अध्यक्ष लामाले अघिल्लो वर्ष असोजमा रोशीमा आएको बाढीपछि संघीय र प्रदेश सरकारले खोज, उद्धार र राहतमा सक्रियता देखाएको भए पनि पुनर्निर्माणमा ढिलासुस्ती भएको भन्दै आलोचना गरे। उनले भने, "अब अर्को विपद् कुर्नु हुँदैन, समयमै सडक, निजी आवास, सार्वजनिक भवन, अस्पताल, उद्योग ग्रामजस्ता संरचनाको पुनर्निर्माण हुनैपर्छ।"
उपाध्यक्ष वाइबाले स्थानीय तहले मात्र विपद् प्रतिकार्य सम्भव छैन भन्दै सबै निकाय मिलेर सहकार्य गर्नुपर्नेमा जोड दिए। प्रमुख जिल्ला अधिकारी ढकालले भने, "मनसुनजन्य विपद्को पूर्वतयारी योजना निर्माण गर्न जिल्लाभर छलफल प्रारम्भ गरिएको छ। रोशी गाउँपालिका बाढी र पहिरोका हिसाबले अत्यन्त जोखिमयुक्त क्षेत्र हो, त्यसैले समयमै तयारी गर्न आवश्यक छ।"
कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक प्रेम प्रसाईंले तालिमप्राप्त जनशक्ति तयार भए पनि आवश्यक उपकरण तथा स्रोतसाधनको अभाव रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद भन्तनाले कार्यक्रम सञ्चालन गर्दै विपद् प्रतिकार्यमा सरकारका विभिन्न निकायबीचको सहकार्य अपरिहार्य रहेको बताए।
अन्तरक्रियामा सहभागी वडाध्यक्षहरूले स्थानीय तहमा विपद्का बेला देखिने समस्या, पहुँचको कठिनाई र समाधानका उपायहरूबारे आफ्ना धारणा प्रस्तुत गरे। कार्यक्रमको अन्त्यतिर गाउँपालिकाका विपद् फोकल पर्सन तथा इञ्जिनियर भुपेन्द्र अधिकारीले अन्तरपालिका समन्वय, विपद् सहायता कक्षको स्थापना र तयारीका गतिविधिबारे जानकारी गराएका थिए।
-
Jigyasanepal