डोटी (पूर्वीचौकी) । दुर्गम गाउँका बालबालिकाको शिक्षामा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यका साथ श्याम फुलुमाया फाउन्डेसनले डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–७ दुलवास्तास्थित श्री सरस्वती आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला र ट्र्याकसुट वितरण गरेको छ।
अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी श्याम मगरातीको नेतृत्व तथा आर्थिक सहयोगमा सञ्चालित फाउन्डेसनअन्तर्गतको श्याम फुलुमाया हस्तकला उद्योगमार्फत विपन्न तथा आवश्यकतामा रहेका विद्यार्थीलाई सहयोग उपलब्ध गराइएको हो। फाउन्डेसनका अनुसार दुर्गम क्षेत्रमा अध्ययनरत बालबालिकाको शिक्षालाई सहज बनाउने र उनीहरूलाई विद्यालयप्रति थप उत्साहित गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।
विद्यालयकी शिक्षिका दीपा साउदले विद्यार्थीहरूको वास्तविक अवस्था र उनीहरूलाई आवश्यक शैक्षिक सामग्रीको अभावबारे जानकारी गराएपछि फाउन्डेसनले तत्काल सहयोगको पहल गरेको जनाएको छ।

बुधबार आयोजित वितरण कार्यक्रममा पूर्वीचौकी गाउँपालिकाका उपाध्यक्ष पशुपति खड्का, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख हरिभक्त साउद, विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बोगटी, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सबै ११० जना विद्यार्थीलाई झोला र ट्र्याकसुट हस्तान्तरण गरिएको थियो।
समाजसेवी श्याम मगराती विगत लामो समयदेखि शिक्षा, बालबालिका, विपद् राहत तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका छन्। फाउन्डेसनमार्फत सञ्चालन गरिएका सामाजिक अभियानहरूले दुर्गम समुदायमा सकारात्मक सन्देश फैलाउनुका साथै विपन्न परिवारका बालबालिकालाई शिक्षामा टिकाइराख्न महत्त्वपूर्ण योगदान पुर्याइरहेको स्थानीयवासीको भनाइ छ।
फाउन्डेसनका अनुसार दुर्गम क्षेत्रका धेरै विद्यार्थी अझै पनि सामान्य शैक्षिक सामग्रीको अभावमा अध्ययन गर्न बाध्य छन्। त्यस्ता विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै उनीहरूको पढाइलाई सहज बनाउने लक्ष्यका साथ आगामी दिनमा पनि विभिन्न विद्यालयबाट प्राप्त आवश्यकताका आधारमा झोला, ट्र्याकसुट तथा अन्य शैक्षिक सामग्री वितरण अभियानलाई निरन्तरता दिइनेछ।
सहयोग सामग्री प्राप्त गरेपछि विद्यार्थी र अभिभावक उत्साहित देखिएका थिए। उनीहरूले दुर्गम क्षेत्रका बालबालिकाको शिक्षाप्रति संवेदनशील बन्दै निःस्वार्थ सहयोग गर्ने श्याम फुलुमाया फाउन्डेसन, श्याम फुलुमाया हस्तकला उद्योग तथा समाजसेवी श्याम मगरातीप्रति आभार व्यक्त गरेका छन्।
स्थानीयका अनुसार सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै शिक्षा क्षेत्रमा गरिएको यस्तो योगदान अन्य व्यक्ति तथा संस्थाका लागि समेत प्रेरणादायी र अनुकरणीय उदाहरण बनेको छ।
-
Jigyasanepal