Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

३७ वर्ष इरानको सर्वोच्च नेतृत्वमा खामेनेई अमेरिकासँग कहिल्यै नझुकेका कठोर शासकको मृत्यु

  •   ७ महिना अघि | १७ फाल्गुन २०८२, आइतवार

काठमाडौँ, फागुन १७ — इरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएको छ। अमेरिका र इजरायलको संयुक्त सैन्य आक्रमणमा परेर उनको निधन भएको अन्तर्राष्ट्रिय स्रोतहरूले जनाएका छन्। ३७ वर्षसम्म इरानको सत्ता केन्द्रमा रहेका खामेनेईको मृत्युले मध्यपूर्वको शक्ति सन्तुलनमा नयाँ तरंग ल्याएको छ।

सन् १९३९ मा मशहादमा जन्मिएका खामेनेई धार्मिक विद्वान परिवारका सन्तान थिए। सन् १९६२ मा उनले इस्लामिक आन्दोलनका नेता रुहोल्लाह खुमेनीको नेतृत्वमा चलेको शाहविरोधी आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि उनी उपरक्षामन्त्री बने र इरानको सशस्त्र संरचना सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेले। विशेषतः इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) को गठन तथा विस्तारमा उनको प्रभाव निर्णायक मानिन्छ।

जुन १९८९ मा खुमेनीको निधनपछि ‘असेम्बली अफ एक्सपर्ट्स’ नामक धर्मगुरुहरूको परिषद्ले खामेनेईलाई नयाँ सर्वोच्च नेता चयन गरेको थियो। आवश्यक धार्मिक दर्जा पूरा नगरेको भन्दै आलोचना भए पनि संविधान संशोधनमार्फत उनलाई सर्वोच्च नेतृत्व सुम्पिएको थियो। त्यसयता उनले इरानको राजनीति, सेना र सुरक्षा संयन्त्रमा कडा नियन्त्रण कायम राखे।

उनको शासनकालमा इरानमा सात जना राष्ट्रपति कार्यरत रहे। आन्तरिक असन्तोष र आन्दोलनहरूलाई उनले कतिपय अवस्थामा बल प्रयोग गरेर दबाएका थिए।

विदेश नीतिमा उनी कठोर अडानका लागि परिचित थिए। विशेषगरी संयुक्त राज्य अमेरिकासँगको सम्बन्धमा उनी सधैं सशंकित र आक्रामक रहे। उनले इजरायल राज्य अन्त्यको आह्वान गर्दै आएका थिए भने होलोकास्टबारे सार्वजनिक रूपमा प्रश्न उठाएका अभिव्यक्तिहरूले अन्तर्राष्ट्रिय विवाद चर्काएका थिए।

उनको निधनसँगै इरानको राजनीतिक भविष्य, क्षेत्रीय सुरक्षा समीकरण र विश्व शक्तिहरूबीचको तनाव नयाँ मोडमा पुग्ने विश्लेषण गरिएको छ। छ सन्तानका पिता खामेनेईको मृत्युले ३७ वर्ष लामो एउटा युगको अन्त्य गरेको छ।

  • Jigyasanepal

थप