भदौ २, काठमाडौँ । राजधानीको बुढानिलकण्ठमा स्कुटर र मोटरसाइकल आपसमा ठोकिँदा दुई युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, दुर्घटनामा सिराहा, जम्दह–४ का २९ वर्षीय भोला थापा र नाम ठेगाना नखुलेका करिब ३५ वर्षीय युवकको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।
कसरी भयो दुर्घटना?
गएराति करिब पौने २ बजे बुढानिलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा दुर्घटना भएको हो।
गोल्फुटारबाट बुढानिलकण्ठ नारायणस्थानतर्फ आउँदै गरेको स्कुटर (प्रदेश ०२–०४१ प ६८१९) र
बुढानिलकण्ठबाट गोल्फुटारतर्फ जाँदै गरेको मोटरसाइकल (प्रदेश ३–०२–००२ प ५७२) आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ।
घाइतेहरुको अवस्था
दुर्घटनामा गम्भीरसहित तीन जना घाइते भएका छन् :
गोरखा आरुपोखरी घर भई हाल बुढानिलकण्ठ–८ भंगाल बस्ने करिब २४ वर्षीय एरिक परियार,
नाम–थर–ठेगाना नखुलेका करिब २८ वर्षीय युवक,
नाम–थर–ठेगाना नखुलेका करिब ३० वर्षीय युवक।
दुवै अज्ञात युवक गम्भीर घाइते छन्। प्रहरीले विवरण दिएको अनुसार,
एकले कालो ट्याक र निलो टिसर्ट लगाएका छन् भने,
अर्कोले खैरो बक्स पाइन्ट र सेतो ट्याक लगाएका छन्।
त्यसमध्ये करिब ३० वर्षीय मङ्गोलियन अनुहार भएका युवकका आफन्त हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
उद्धार र अनुसन्धान
घटनाको जानकारी पाएलगत्तै प्रहरी प्रभाग बुढानिलकण्ठबाट प्रहरी सहायक निरीक्षक सुवर्ण प्याकुरेलको नेतृत्वमा गएको टोलीले घाइतेलाई अस्पताल पुर्याएको थियो।
हाल दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
-
Jigyasanepal