Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

इलाममा भीषण पहिरो : पाँच स्थानीय तहमा ठूलो जनधनको क्षति, १७ जनाको मृत्यु

  •   १ वर्ष अघि | १९ असोज २०८२, आइतवार

इलाम । लगातारको वर्षापछि इलाममा आएको भीषण बाढीपहिरोले विनाशकारी रूप लिँदै १७ जनाको ज्यान लिएको छ। इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकासहित पाँच स्थानीय तहमा व्यापक मानवीय र भौतिक क्षति भएको पुष्टि गरिएको छ।

इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घरमा आएको पहिरोले घरभित्र रहेका ६ जनाको ज्यान लिएको प्रहरीले जनाएको छ। सो स्थानमा सशस्त्र प्रहरी बल श्रीअन्तु गणबाट खटिएको उद्धार टोलीले रातभर खोजीकार्य सञ्चालन गरेको थियो।

त्यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ। घर भत्किएको स्थानबाट चार जनाको शव फेला पारिएको र घाइते एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मानेभञ्ज्याङस्थित प्रहरी स्रोतले जानकारी दिएको छ। उद्धारका लागि नायव निरीक्षक सुरेन्द्र डोटेलको कमाण्डमा सात जनाको सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो।

देउमाई नगरपालिका–५ घुसेनीमा दीपक लिम्बुको घर पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना अझै बेपत्ता छन्। एक जनालाई जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ।

यस्तै, माङसेबुङ गाउँपालिका–५ पार्टीगाउँमा मदन लिम्बुको घरमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

फाकफोकथुम गाउँपालिका–३ रातोमाटे निवासी ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

लगातारको वर्षाले इलामका पहाडी भू–भागमा जोखिम बढाउँदै लगेकाले थप क्षतिको आशंका गरिएको छ। स्थानीय प्रशासन, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीहरू निरन्तर उद्धार र खोजी कार्यमा खटिएका छन्।

प्रदेश प्रहरी कार्यालय कोशीका डीआईजी ईश्वर कार्कीका अनुसार, “भारी वर्षाका कारण धेरै ठाउँमा संचार अवरुद्ध छ। केही क्षेत्रमा पुग्न कठिनाइ भइरहेको छ, तर उद्धार टोलीले कुनै पनि ढिलाइ नगरिकन काम गरिरहेको छ।”

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले तत्काल राहत र सुरक्षित बसोबासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। पहिरोले सडक, विद्युत् लाइन र खानेपानी पाइपसमेत क्षतिग्रस्त बनाएको प्रारम्भिक विवरण आएको छ।

  • Jigyasanepal

थप