बनेपा । बनेपा नगरपालिका–११ स्थित आदर्श विद्या मन्दिर (ABM) स्कूल निरन्तर प्रगतीको पथमा लम्किएको छ। गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार र सिर्जनशील क्रियाकलापमा जोड दिँदै विद्यालयले आफूलाई फरक ढंगमा स्थापित गरेको छ। शनिबार विद्यालयमा आयोजित कार्यक्रममा सयौं विद्यार्थी, अभिभावक, साहित्यकार र संचारकर्मीको उपस्थितिमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई भव्य विदाई गरिएको छ।
कार्यक्रममा प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. राम प्रसाद ज्ञावाली, प्राध्यापक भोजराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भयो। साथै गीतकार तथा साहित्यकार हरिहर तिमल्सिना, शिक्षाविद् डा. चन्द्रप्रसाद लुइटेल, अन्तर्राष्ट्रिय अडिटर शैलेन्द्र खरेल, आर्दश बहुमुखी क्याम्पस प्रमुख तिर्थराज दाहाल लगायतका व्यक्तित्वहरूको सहभागिता उल्लेखनीय रह्यो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि तिमल्सिनाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई स्वागत गर्दै विद्यालयको उपलब्धि र भावी योजनाबारे प्रतिवेदन प्रस्तुत गरे।
विद्यालयको पृष्ठभूमि र भौतिक संरचना
२०६० सालमा स्थापना भई २०६१ बैशाखदेखि शैक्षिक यात्रा सुरु गरेको एबीएम स्कुल बनेपा हाइटस्थित करिब ५ रोपनी क्षेत्रमा फैलिएको छ। विद्यालयसँग आफ्नै ४ वटा पक्की भवन, २ वटा सहायक भवन, पर्याप्त खेलमैदान, काभ्रेकै पहिलो फुटसल तथा पिकलबल खेलमैदान छ। विद्यार्थी आवतजावतका लागि ५ वटा बस संचालनमा छन्।
विद्यालयमा विज्ञान प्रयोगशाला, मल्टिमिडिया हल, योग–ध्यान कक्षा, स्मार्ट बोर्डसहितको डिजिटल शिक्षण व्यवस्था, नियमित कार्यशाला र अध्ययन भ्रमण को सुविधा रहेको छ।

शैक्षिक उपलब्धि
विद्यालयले स्थापना कालदेखि नै निरन्तर प्रगति गरिरहेको छ।
स्थापना समय: ३० विद्यार्थीबाट कक्षा सुरु
हालसम्म कक्षा ११ मा उत्तीर्ण: ११०० भन्दा बढी विद्यार्थी
यस वर्ष: कक्षा ११ मा १७२ विद्यार्थी भर्ना (व्यवस्थापन १०५, कानुन २७, विज्ञान ४०)
कक्षा १२: ११८ जना उत्तीर्ण (११२ जनाले सफलतापूर्वक स्नातक)
छात्रवृत्ति: हाल ३२ विद्यार्थी छात्रवृत्तिमा अध्ययनरत
विद्यालयले ISO EOMS प्रणालीअनुसार सिकाइ सुधारका लागि ५ वर्षे योजना अघि सारेको छ। साथै विश्वविद्यालय तहमा BBS सञ्चालन भइसकेको र BALLB सञ्चालनका लागि आवेदन दिइसकेको प्रतिवेदनमा उल्लेख छ।
शिक्षण–सिकाइको दृष्टिकोण
विद्यालयले विद्यार्थीलाई केवल विषयगत ज्ञान मात्र नभई जीवनोपयोगी सीप र सामाजिक व्यवहारसँग जोडेर शिक्षण गर्ने रणनीति अवलम्बन गरेको छ। मूल्यांकनमा निर्णयात्मक र निर्माणात्मक पद्धति प्रयोग गर्दै समुदाय–केन्द्रित सिकाइलाई प्राथमिकता दिइएको छ।
अतिरिक्त क्रियाकलाप
विद्यार्थीहरूको रुचि र आवश्यकता अनुरूप खेलकुद, अनुसन्धान, बहस, सिर्जनशील गतिविधिमा उच्च प्राथमिकता दिइएको छ। विद्यालयमै फुटसल निर्माण गरी विद्यार्थीलाई शारीरिक, बौद्धिक र सामाजिक विकासमा सहभागी गराउने रणनीति अघि सारिएको छ।
प्रा.डा. रामप्रसाद ज्ञावाली : “समय र परिवर्तित शिक्षामा विशेष ध्यान दिनुपर्छ। अहिले विद्यार्थीको पढ्ने बानी हराउँदै गएको छ, अभिभावक र शिक्षकले यसतर्फ गम्भीर विचार गर्नुपर्ने बेला आएको छ।”
अन्तर्राष्ट्रिय प्रतिनिधि शैलेन्द्र खरेल : “एबीएम स्कुलले अन्तर्राष्ट्रिय स्तरकै शैक्षिक गुणस्तर कायम गर्दै आएको छ, यसले सम्पूर्ण समुदायलाई गर्व गर्ने आधार दिएको छ।”
“सबल, सक्षम, चरित्रवान र कर्मशील नागरिक निर्माण” गर्ने संकल्पसहित एबीएम स्कुलले आफ्नो शैक्षिक यात्रा निरन्तरता दिइरहेको छ। अभिभावक, साहित्यकारदेखि शिक्षाविद्हरसम्मको प्रशंसा पाइरहेको विद्यालयले आगामी दिनमा पनि शिक्षामा नवीनतम प्रविधि र सांस्कृतिक जरा मजबुत बनाउन भूमिका खेल्ने प्रतिबद्धता दोहोर्याएको छ।
-
Jigyasanepal