Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

नेपाल सरकारले म्यानमारका भूकम्पपीडितलाई सहायता पठाउने

  •   २ वर्ष अघि | १८ चैत्र २०८१, सोमवार

काठमाडौं, चैत १९ – नेपाल सरकारले म्यानमारमा गएको विनाशकारी भूकम्पका पीडितहरूलाई मानवीय सहायता पठाउने निर्णय गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राहत सामग्री उपलब्ध गराउने निर्णय लिएको हो।

सहायता सामग्री पठाउने तयारी

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल सरकारका विभिन्न निकायमा मौज्दात रहेको राहत सामग्री म्यानमार पठाइनेछ। साथै, अर्थ मन्त्रालयले ती निकायहरूलाई आवश्यक खर्चको व्यवस्था मिलाउने निर्णय गरेको छ।

नेपाल वायु सेवा निगमको जहाजमार्फत राहत सामग्री पठाइने छ भने नेपाली सेनाले पनि आफ्नै जहाजमा मेडिकल उपकरण तथा स्वास्थ्यकर्मीहरूको टोली पठाउने तयारी गरिरहेको छ।

म्यानमारमा भूकम्पको भयावह स्थिति

चैत १५ गते शुक्रबार म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। उक्त भूकम्पका कारण हालसम्म मृत्यु हुनेको संख्या २ हजार ५६ पुगेको छ भने ३ हजार ९०० भन्दा बढी घाइते भएका छन्। अझै २७० जना बेपत्ता रहेको जानकारी सैन्य सरकारले दिएको छ।

नेपाल सरकारको यस निर्णयले भूकम्पपीडितहरूलाई आवश्यक सहयोग पुग्ने विश्वास गरिएको छ।


म्यान्मा भूकम्प: मृतक संख्या २ हजार नाघ्यो, एक हप्ताको राष्ट्रिय शोक घोषणा

– म्यान्मामा गएको विनाशकारी भूकम्पका कारण मृतक संख्या २ हजार ५६ पुगेको छ भने घाइतेको संख्या ३ हजार ९०० नाघेको छ। अझै २७० जना हराइरहेकाले मृतक संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पपछि म्यान्मा सरकारले अप्रिल ६ सम्म राष्ट्रिय शोक घोषणा गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

मण्डलेमा भयावह अवस्था

म्यान्माको दोस्रो ठूलो सहर मण्डले भूकम्पबाट सबैभन्दा प्रभावित क्षेत्रमध्ये एक हो। यहाँ तीन दिनदेखि हजारौँ मानिसहरू सडकमा रात बिताउन बाध्य भएका छन्। कतिपय पुनः कम्पनको डरले बाहिरै बसिरहेका छन् भने कतिपयको घर भत्किएकाले उनीहरू फिर्ता जान सकेका छैनन्।

मुख्य अस्पताल क्षतिग्रस्त भएकाले बिरामीहरूलाई अस्पताल परिसरमै टेन्ट राखेर उपचार गर्नुपरेको छ। गर्मीका कारण थप चुनौती थपिएको छ भने स्वास्थ्यकर्मीहरू न्यून स्रोतसाधनमा सेवा दिइरहेका छन्।

छिमेकी मुलुकहरूमा असर

भूकम्पको प्रभाव म्यान्मामा मात्र सीमित छैन। थाइल्यान्डको राजधानी बैंककमा भूकम्पका कारण ३०-तले भवन भत्किँदा १९ जनाको मृत्यु भएको छ भने चीनका तीन नागरिक र दुईजना फ्रान्सेली नागरिक पनि ज्यान गुमाएका छन्।

अन्तर्राष्ट्रिय सहायता र संकट

चार वर्षदेखिको गृहयुद्धका कारण आर्थिक तथा स्वास्थ्य प्रणाली कमजोर बनेको म्यान्माले अन्तर्राष्ट्रिय सहायता मागेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपत्कालीन सहायता घोषणा गर्दै ३० दिनभित्र ८ लाख अमेरिकी डलर सहयोग आवश्यक पर्ने जनाएको छ। रेडक्रसले १०० मिलियन डलरभन्दा बढी सहयोगको अपिल गरेको छ।

चीन, रुस, भारतलगायत देशहरूले राहत सामग्री पठाएका छन्। तर, संकटको बीचमा पनि म्यान्माको सैन्य सरकारले विरोधी समूहहरू विरुद्ध हवाई आक्रमण जारी राखेको छ। एक जातीय सशस्त्र समूहका अनुसार भूकम्पपछि भएको हवाई आक्रमणमा सात लडाकु मारिएका छन्।

थाइल्यान्डमा उद्धार टोलीहरू अझै भग्नावशेषमा फसेका मानिसहरूको खोजी गरिरहेका छन्। बैंककमा ७५ जना अझै बेपत्ता छन् भने जीवित फेला पर्ने सम्भावना कम हुँदै गएको उद्धारकर्ताहरूले बताएका छन्।


  • Jigyasa media

थप