असार ३१, २०८२ | काठमाडौं
देशभर मनसुनी प्रणाली सक्रिय रहँदा जल तथा मौसम पूर्वानुमान महाशाखाले सम्भावित जोखिमबारे सतर्क रहन नागरिकहरूलाई आग्रह गरेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा औसत स्थानको आसपास र पूर्वमा औसत स्थानको केही उत्तरतिर सक्रिय रहेको महाशाखाले जनाएको छ।
आज (मंगलबार) दिउँसो देशभर आंशिकदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायतका पहाडी भेगका केही स्थानहरूमा तथा अन्य केही भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानहरूमा भने भारी वर्षा हुन सक्ने महाशाखाको चेतावनी छ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
आज रातिसमेत मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान र अन्य थुप्रै भू–भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। यस्तै, कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही भागहरूमा हुरी–बतास समेत चल्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ।
महाशाखाले भारी वर्षाका कारण बाढी, पहिरो तथा सवारी आवागमनमा समस्या आउन सक्ने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। नदी किनार, पहाडी बाटो र जोखिमयुक्त भू–भागमा यात्रा गर्दा सतर्कता आवश्यक रहेको पनि महाशाखाको सिफारिस छ।
-
Jigyasanepal